२०८३ असार ३ गते , बुधबार

झापामा मंसीर १७ गतेदेखि मतदाता नामावली सङ्कलन

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर १३ गते , सोमबार
झापामा मंसीर १७ गतेदेखि मतदाता नामावली सङ्कलन

झापा । झापामा यही मंसीर १७ गतेदेखि मतदाता नामावली सङ्कलन कार्यक्रम सुरु हुने भएको छ । जिल्लाका स्थानीय तहमा दुई चरणमा सो कार्यक्रम गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक आयोजना गरी मतदाता नामावली कार्यक्रमका बारेमा जानकारी दिइएको हो ।

पहिलो चरणमा मंसिर १७ देखि पुस २ गतेसम्म र अर्को चरणमा पुस ४ देखि पुस १८ गतेसम्म मतदाता नामावली सङ्कलन कार्यक्रम सञ्चालन हुने भएको छ । बिर्तामोड , अर्जुनधारा , हल्दिवारी , कमल , शिवसताक्षी र कनकाईमा पहिलो चरणअन्तर्गत मंसीर १७ देखि पुस २ गतेसम्म सञ्चालन हुनेछ भने मेचीनगर , बुद्धशान्ति , कचनकवल, गौरादह , झापा र बाह्रदशीमा दोस्रो चरणमा पुस ४ देखि पुस १८ गतेसम्म सञ्चालन हुने भएको छ ।

जिल्लाको भद्रपुर , गौरीगञ्ज र दमकमा पहिलादेखि नै पोस्ट सञ्चालनमा रहेको छ । २०७० र २०७४ को निर्वाचनमा मतदाता परिचयपत्र नपाउनेहरूको लागि स्थानीय तहमा मतदाता नामावली सङ्कलन कार्यक्रम सञ्चालन गरिने निर्वाचन कार्यालय प्रमुख तुलसी नेपालले बताए । जिल्लाका १२ वटा पालिकामा मतदाता नामावली सङ्कलन गर्न प्रत्येक पालिकामा दर्ता स्थल व्यवस्थापक र दर्ता कर्मचारीको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

झापामा अहिले ६ लाख ९० हजार ३१४ जनाको मतदाता नामावलीमा नाम रहेको छ । २०७०- २०७४ को निर्वाचनमा छुट्ने करिब ५५ हजार रहेको अनुमान गरिएको छ । तीमध्ये ३० हजारलाई मतदाता नामावली सङ्कलन कार्यक्रममा समेट्ने लक्ष्य रहेको कार्यालय प्रमुख नेपालले जानकारी दिए । त्यस्तै बाहिर जिल्लाका आउट डिस्ट्रिक रजिष्ट्रेशनअन्तर्गत ५ हजार जनाको नामावली सङ्कलन गर्ने लक्ष्य रहेको उनले बताए । जिल्ला कार्यक्रम व्यवस्थापन तथा अनुगमन समितिका संयोजक रहेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले मतदानको अधिकारबाट कसैलाई पनि वञ्चित नगराउनका लागि यो अभियानलाई सफल बनाउन आव्हान गरे ।

कार्यक्रममा नेकपा एमालेका यमबहादुर श्रेष्ठ , माओवादीका सीपी कडरिया ,एकीकृत समाजवादीका दुर्गा भट्टराई , लोकतान्त्रिक समाजवादी पार्टीका अनुत राजवंशी , जनता समाजवादी पार्टीका कमन देवान , विवेकशील साझा पार्टीका मेदनी प्रसाईँ ,एमएनओका बानिरा मेचे , प्रहरी उपरीक्षक सानुराम भट्टराई , सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डे , अनुसन्धान अधिकृत तिलकप्रसाद प्रसाईँ , सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपाने ,जिल्ला समन्वय समितिका लालबहादुर श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार