२०८३ असार ३ गते , बुधबार

भुटानी शरणार्थीले राखे तीन माग, पूरा गर्न नसक्ने सरकारको जवाफ

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर १३ गते , सोमबार
भुटानी शरणार्थीले राखे तीन माग, पूरा गर्न नसक्ने सरकारको जवाफ

झापा । भुटानी शरणार्थीको सहयोग र उनीहरूको समस्या दीर्घकालीन रुपमा समाधान गर्ने उद्देश्यले पुनर्वास योजनामा अमेरिका पुगेकाहरूको सङ्गठन इन्ट्रा नेसनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका प्रतिनिधि नेपालमा रहेर लबिङ गरिरहेका छन् ।

दुई सातादेखि नेपालमा रहेका उनीहरूले शीर्ष राजनीतिज्ञलाई भेटेर झापामा रहेका शरणार्थीलाई तेस्रो मुलुकमा पुनर्वास, नेपाली नागरिकता पाउनु पर्ने वा स्वदेश फिर्ताको व्यवस्था गर्न माग गरेका छन् । राजनीतिज्ञहरूबाट सकारात्मक जबाफ पाएको सो संस्थाका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिए । तर, प्रदेश १ सरकारले आफूले सो माग पूरा गर्न नसक्ने सार्वजनिक रूपमा जबाफ दिएको छ ।

इन्ट्राले निर्माण गरेको ज्येष्ठ नागरिक डे केयर भवनको उद्घाटन गर्न शनिवार बेलडाँगी शिविर पुगेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले शरणार्थीलाई तेस्रो मुलुकमा पुनर्वास, नेपाली नागरिकता र स्वदेश फिर्ताको व्यवस्था गर्ने माग आफ्नो क्षेत्राधिकारभित्र नपर्ने स्पष्ट पारेका हुन् । तर, उनले सङ्घीय सरकार र राजनीतिक दलहरूलाई सो माग पूरा गराउन आफ्नो पहल रहने प्रतिबद्धता जनाए ।

उक्त तीन मागमध्ये एउटा पूरा गरिदिन इन्ट्राका अध्यक्ष डिल्ली अधिकारीले आग्रह गरेका थिए । शिविरमा रहेका शरणार्थीलाई सहयोग गर्दै आएको इन्ट्राले ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई वृद्ध भत्ता दिने अध्यक्ष अधिकारीले जानकारी दिए । उनका अनुसार यसअघि नै इन्ट्राले ८० वर्ष पुगेका करिब १३२ जनालाई मासिक पाँच हजार रुपैयाँ वृद्ध भत्ता उपलब्ध गराउँदै आएको छ ।

डे केयर भवन उद्घाटन तथा सांस्कृतिक कार्यक्रममा अध्यक्ष अधिकारीले शिविरमा रहेकाहरूलाई केही समस्या परे आफूहरूले सक्दो समाधान गर्न बताए । नेपाली भाषा, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले घोषणा गरिएको इन्ट्राले मेरो भ्वाइसकप अमेरिका यूएसए–२ र मेरो डान्स कप यूएसए–४ को उद्घाटन पनि गरिएको छ । अमेरिका र क्यानडामा रहेका नेपाली भाषीहरूले आउँदो जनवरीबाट आवेदन दिन सकिने अध्यक्ष अधिकारीले जानकारी दिए ।

शनिवार आयोजित सांस्कृतिक कार्यक्रममा प्रेमराजा महत, दिलीप रायमाझी, प्रमोद खरेल, केकी अधिकारी, रचना रिमाल, समीक्षा अधिकारी, प्रवीण भेटवाल, निशान भट्टराईलगायत एक दर्जनभन्दा बढी कलाकारले आआफ्नो प्रस्तुति दिएका थिए । गायक प्रेमराजा महतले ‘पानको पात’ गाउँदा अतिथि कलाकार वर्षा राउत र केकी अधिकारीसहित कलाकारसँग मुख्यमन्त्री राई छमछमी नाचेका थिए ।

सम्बन्धित समाचार