२०८३ असार ३ गते , बुधबार

कार्यक्रममै सीमित बन्यो झापाको कर सप्ताह

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर ७ गते , मंगलबार
कार्यक्रममै सीमित बन्यो झापाको कर सप्ताह

भद्रपुर । ‘स्वैच्छिक कर सहभागिता अभिवृद्धि स् सुशासन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ सुरु भएको यस वर्षको कर सप्ताह कार्यक्रममै सीमित बन्दै झापामा सम्पन्न गरिएको छ ।

यही मङ्सिर १ गते बिर्तामोडमा विशेष समारोह आयोजना गरी कर दिवस मनाउनुका साथै कर सप्ताहको उद्घाटन गरिएको थियो । आन्तरिक राजश्व कार्यालय भद्रपुरको आयोजनामा सुरु भएको कर सप्ताह आज भद्रपुरको जिल्ला समन्वय समितिको हलमा कार्यक्रम आयोजना गरी सम्पन्न गरिएको हो ।

आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत शुभ रिजालको अध्यक्षता एवम् झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको प्रमुख आतिथ्यमा कर सप्ताह समापन गरिएको आन्तरिक राजश्व कार्यालय भद्रपुरका जनक बस्नेतले जानकारी दिए। कर सप्ताहभरि झापालगायत इलाम, पाँचथर र ताप्लेजुङका विभिन्न स्थानका कर शिक्षा कार्यक्रम तथा उद्योगी व्यवसायहिरुबीच अन्तरक्रिया गरिएको थियो । 

बस्नेतका अनुसार १ गते कर दिवससँगै कर सप्ताह शुभारम्भ गरियो भने २ गते मेची उद्योग वाणिज्य सङ्घको समन्वयमा मेचीनगरमा करदाता शिक्षा कार्यक्रम गरियो । ३ गते कनकाई उद्योग वाणिज्य सङ्घको समन्वयमा सुरुंगामा कार्यक्रम गरिएको थियो भने ४ गते बुद्धशान्ति उद्योग वाणिज्य सङ्घको समन्वयमा बुधबारेमा कार्यक्रम गरिएको थियो । ६ गते झापा उद्योग वाणिज्य सङ्घको समन्वयमा भद्रपुरमा कार्यक्रम गरिएको कार्यालयले जनाएको छ ।

समापनका अवसरमा वक्ताहरूले करको दरभन्दा दायरा बढाउन सुझाव दिँदै करदाताहरूमा अझै पनि करको बारेमा ज्ञानको अभाव रहेकाले करदाता शिक्षा कार्यक्रम वर्षैभरि समय–समयमा सञ्चालन गर्न कार्यालयलाई सुझाव दिएका थिए । 

कर अधिकृत सुरेश महतोले सञ्चालन गरेको समापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का सदस्य कुमार भट्टराई, बिर्तामोड उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, मेची उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष मोहन निरौला, बुद्धशान्ति उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष दीपक सापकोटालगायतले शुभकामना मन्तव्य राखेका थिए ।  कार्यालय प्रमुख रिजालले कार्यक्षेत्र रहेको झापाको माई पूर्व, इलाम, पाँचथर र ताप्लेजुङको समग्र करदाताहरूको अवस्थाको बारेमा प्रकाश पारेका थिए । 

सम्बन्धित समाचार