हल्दिवारीले किसानलाई मालपोतमा शत प्रतिशत छुट दिने
झापा । वर्षाका कारणले पूर्ण रुपमा धानबाली क्षति बेहोरेका किसानलाई हल्दिवारी गाउँपालिकाले मालपोत करमा शत प्रतिशत छुट दिने भएको छ । पीडित किसानलाई राहत स्वरुप मालमोतमा छुट दिने निर्णय गरेको हल्दीबारी गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले जानकारी दिए ।
बेमौसमी बर्षाको कारणले धानबाली लडेर क्षति बहोरेका कृषकहरुलाई हल्दीबारी गाउँपालिकाको नियमित मासिक बैठकले पीडित कृषकहरुलाई राहत दिने निर्णय हो । हल्दीबार पूर्ण रुपमा ९३७ विगाहा, आंशिक रुपमा ७३० बिगाहा र सामान्य रुपमा १७७ बिगाहामा जमिनमा लगाइएको धानबालीमा क्षति भएको प्रवक्ता पोर्तेलको भनाई छ । पूर्ण रुपमा धानबाली नष्ट भएका कृषकहरुलाई चालू आर्थिक वर्षमा तिर्नुपर्ने मालपोत करमा १ सय प्रतिशत छुट दिने, आँशिक रुपमा क्षति भएका कृषकहरूलाई ७५ प्रतिशत छुट दिने र सामान्य क्षति भएका कृषकहरुलाई ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।
त्यस्तै गरी, अधिँया र ठेक्कामा खेती गर्ने कृषकहरुको हकमा धानबाली नष्ट भएको जमिनमा आवश्यक पर्ने धानको बिउ आगामी बर्षमा गाउँपालिकाबाट निशुल्क रुपमा उपलब्ध गराउने निर्णय समेत गरिएको छ ।