२०८३ असार ३ गते , बुधबार
प्रेस युनियन झापाको भेला
बिर्तामोड । झापाको बिर्तामोडमा भएको नेपाल प्रेस युनियनमा आबद्ध पत्रकारहरूको भेलामा सञ्चार क्षेत्रमा देखिएका समस्या, युनियनको महाधिवेशन, प्रेस युनियनमा आबद्ध पत्रकारहरूको अवस्था र नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगतका निर्वाचनमा युनियनमा आबद्ध सदस्यहरूको उपस्थिति लगायतका विषयमा छलफल भएको छ ।
नेपाल प्रेस युनियन झापाको आयोजना र महासचिव अजय बाबु सिवाकोटीको उपस्थितिमा सम्पन्न छलफलमा प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीले शाखाले जिल्लामा गरेका केही महत्त्वपूर्ण कामका साथै कांग्रेको १४ औं महाधिवेशनमा प्रेस युनियनले निर्वाह गरेको भूमिका लगायतका विषयमा जानकारी गराएकी थिइन् ।
छलफलमा सहभागीहरूले युनियनको महाधिवेशन नहुनुको कारणबारे खबरदारी गर्नुका साथै लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने नाममा विज्ञापन बोर्डले सञ्चारमाध्यमहरूको थप तीन प्रतिशत रकम कटौती गरेकोबारे युनियन केन्द्रको मौनताबारे प्रश्न उठाएका थिए ।
चालु आर्थिक वर्ष सुरु भएसँगै सूचना विभागले दिँदै आएको विज्ञापन विज्ञापन बोर्डमार्फत दिन थालिएको छ भने लोककल्याणकारी सूचना प्रकाशित गरेबापत सञ्चारमाध्यमहरूले पाउँदै आएको सुविधामा विज्ञापन बोर्डका नाममा थप ३ प्रतिशत रकम कटौती गरिएको छ । यसअघि सूचना विभागले उपलब्ध गराउँदै आएको सूचनालाई नै विज्ञापन बोर्डमार्फत उपलब्ध गराएर सञ्चार माध्यमले पाउँदै आएको सुविधा कटौती गर्नुले साना लगानीका सञ्चारमाध्यमहरूमा थप आर्थिक भार बढेको पत्रकारहरूले गुनासो गर्दै आएका छन् ।
विज्ञापन बोर्डले लोककल्याणकारी विज्ञापनका अतिरिक्त अन्य व्यावसायिक विज्ञापन उपलब्ध गराउनु पर्नेमा बोर्ड पदाधिकारी तथा सदस्यहरू सञ्चारमाध्यमकै रकम कटौती गरेर तलब र भत्ता खाएर बसेको सञ्चारमाध्यम सञ्चालकहरूको आरोप छ । सहभागीहरूले सूचना विभागले उपलब्ध गराउँदै आएको सूचना मात्र उपलब्ध गराएर विज्ञापन बोर्डका नाममा सञ्चारमाध्यमलाई आर्थिक भार नथप्न उनीहरूले माग गरेका छन् ।
छलफलमा नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व अध्यक्ष तथा नेपाल प्रेस युनियनका निवर्तमान सभापति कृष्ण हुमागाईँ, केन्द्रीय प्रतिनिधि रेजिना गौतम, नेपाल पत्रकार महासंघ झापा शाखाकी उपाध्यक्ष सुशीला सङ्ग्रौला, नेपाल प्रेस युनियन झापाका सचिव डिल्लीराम घोर्साइँ, उद्योग वाणिज्य सङ्घ बिर्तामोडका उपाध्यक्ष सञ्जीव घिमिरे, ग्लोबल टिभीका सञ्चालक शेखर सेढाईँ, प्रेस युनियन झापा सदस्य कमल सिटौलालगायत युनियनमा आबद्ध पत्रकारहरूको उपस्थिति रहेको थियो ।