२०८३ असार ३ गते , बुधबार

आजदेखि विस्थापित हुँदै एमआरपी पासपोर्ट

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर १ गते , बुधबार
आजदेखि विस्थापित हुँदै एमआरपी पासपोर्ट

झापा । राहदानी विभागले एमआरपी विस्थापन गरी आजदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्दै छ।  त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट सेवाको सुरुवात गरिने विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए। परराष्ट्रमन्त्री नारायण खड्काले  दिउँसो २ बजे एक समारोहबीच ई–पासपोर्ट सार्वजनिक गर्ने छन्। 

महानिर्देशक अर्यालका अनुसार यसको कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ। साधारण (३४ र ६६ पृष्ठ), कूटनीतिक, विशेष, सर्भिस, अस्थायी, सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका पासपोर्ट जारी हुनेछन्।

विभागले यसअघि चार प्रकारका पासपोर्ट जारी गर्दै आएको थियो। ई–पासपोर्टका पृष्ठहरूमा नेपालका सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र चर्चित ठाउँहरूको तस्वीर राखिएको छ। पहिलो कभर र अन्तिम कभरका भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झन्डा छ। पहिलो चरणमा विभागले साधारण पासपोर्ट जारी गर्ने अर्यालले बताए। अरू प्रकारका  भने जनवरीदेखि मात्रै जारी हुनेछन्। ‘केही साता सीमित मात्रै ई–पासपोर्ट वितरण गर्छौं’, अर्यालले भने, ‘बिस्तारै बढाएर लान्छौं।’

मेसिन रिडेबल राहदानी (एमआरपी) बिस्तारै विस्थापन गर्दै लैजाने विभागको योजना छ। सेवाग्राहीले ई–पासपोर्ट एकै दिनमा पाउनेछन्। विभागले २० लाख ई–पासपोर्ट छपाइ गर्न सन् २०२० डिसेम्बरमा फ्रान्सको आईडीईएमआईए आइडेन्टी एन्ड सेक्युरिटी कम्पनीसँग २ अर्ब ४८ करोड रुपैयाँमा सम्झौता गरेको थियो। अर्यालका अनुसार ई–पासपोर्टमा माइक्रो चिप्स हुन्छ। ‘चिपमा औंठाछाप, तस्वीरलगायत व्यक्तिगत विवरण हुन्छन्। यी विवरण राखेर चिप लक गरिसकेपछि कसैले फेरबदल गर्न सक्दैन’, अर्यालले भने।

यसले गर्दा व्यक्ति झुक्किने हुँदैन। मेसिनले पासपोर्टधनी र बोक्ने व्यक्ति उही हो वा होइन भन्ने ‘सेन्सर’ गर्ने हुनाले यसबाट दुरुपयोग रोकिने उनले बताए। उनका अनुसार एक व्यक्तिको पासपोर्टमा अर्को उड्ने सम्भावना न्यून हुन्छ। उक्त मेसिनमा एकपटक त्यस्तो पासपोर्ट प्रयोग भएको र त्यही पासपोर्ट अर्को व्यक्तिले प्रयोग गरे रोकिदिन्छ। त्यसैले कसैको पासपोर्टमा हुलिया परिवर्तन गरी हिँड्ने सम्भावना पनि न्यून हुन्छ। 

सम्बन्धित समाचार