झापामा चिया र अलैँचीलक्षित कर सुधार तथा राजश्व नीतिसम्बन्धी अन्तरक्रिया
भद्रपुर । अर्थ मन्त्रालयअन्तर्गतको नेपाल राजश्व परामर्श समितिले निर्यातजन्य कृषि वस्तु चिया र अलैँचीमा विद्यमान समस्या, कर सुधार एवम् राजश्व नीतिका सम्बन्धमा सरोकारवालाहरूसँग अन्तरक्रिया गरेको छ । नेपाल चिया उत्पादक सङ्घको समन्वयमा सोमबार बिर्तामोडमा नेपाल राजश्व परामर्श समितिले सरोकारवालाहरूसँग अन्तरक्रिया गरेको हो ।
अन्तरक्रियामा सहभागी सरोकारवालाहरूले चिया, अलैँची कृषिजन्य उत्पादन भएकोले यी वस्तुमा लिइँदै आएको कर र राजश्वमा विशेष छुट हुनुपर्ने धारणा राखेका थिए । उनीहरूले निर्यातजन्य कृषि वस्तु भए पनि राज्यका तर्फबाट कुनै पनि किसिमको उल्लेख्य सहयोग नपाएको गुनासो गरेका थिए ।
समितिका अध्यक्ष महेशप्रसाद दाहालको अध्यक्षतामा आायेजित कार्यक्रममा नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष सुरेशकुमार मित्तल, नेपाल अलैँची व्यवसायी महासङ्घका उपाध्यक्ष इन्द्र चन्द विन्दल, नेपाल पहाडी चिया उत्पादक सङ्घका अध्यक्ष उदय चापागाईँ, सूर्योदय चिया उत्पादक सङ्घका अध्यक्ष उक्तम श्रेष्ठलगायतले चिया तथा अलैँची क्षेत्रका समग्र वस्तुस्थिति जानकारी गराउँदै यी क्षत्रका विद्यमान समस्या र समाधानका उपाय बारे प्रूतुतिकरण दिएका थिए । उनीहरूले समितिका अध्यक्ष दाहालमार्फत सरकारलाई छुट्टाछुट्टै ज्ञापनपत्र पनि बुझाएका थिए ।
समितिका सदस्य सचिव भूमिराज शर्माले सञ्चालन गरेको कार्यक्रममा झापा उद्योग सङ्घका अध्यक्ष यमबहादुर श्रेष्ठले नेपालबाट निर्यात हुने कृषि वस्तुमा बेला–बेलामा भारतले विभिन्न बहाना झिकेर समस्या सिर्जना गर्ने गरेको बताउँदै तेस्रो मुलुक निर्यातका लागि पनि विकल्प खोज्नुपर्ने औँल्याए । अग्रज चिया उद्योगी चण्डीप्रसाद पराजुलीले मुलुकमा सङ्घीयता आएसँगै दोहोरो–तेहेरो करले उद्यमी–व्यवसायी मारमा परेको भन्दै कृषि वस्तुमा राज्यले अपेक्षाकृत सुविधा दिए निर्यात बढ्न गई त्यसले व्यापार घाटा कम गर्न सहयोग पुग्ने उल्लेख गरे ।
समितिका अध्यक्ष दाहालले उद्यमी–व्यवसायीहरूले राखेका सुझावहरूलाई सकारात्मक रुपमा लिँदै चिया, अलैँचीलगायतका कृषि वस्तुमा कर एवम् राजश्व र निर्यातमा देखिएका समस्या समाधानका लागि समितिले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।