२०८३ असार ३ गते , बुधबार
इन्धनको मूल्य वृद्धिविरुद्ध दमक र मेचीनगरमा विप्लवको विरोध प्रदर्शन
झापा । नेत्र विक्रम चन्द “विप्लव ” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धिको विरुद्ध झापाको दमक र मेचीनगरमा प्रदर्शन गरेको छ। दमकमा र मेचीनगरमा छुट्टाछुट्टै भएको विरोध प्रदर्शन कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताले सरकार विरुद्ध चर्को नाराबाजी गरेका थिए। मूल्यवृद्धिका विरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएका नेता कार्यकर्ताले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर, नालायक सरकार राजीनामा दे , भ्रष्टाचारी सरकार मुर्दावाद , दलाल सरकार मुर्दावाद लगायतका नाराबाजी गरेका थिए भने मेचीनगरमा भएको विरोध प्रदर्शनमा टायर समेत बालिएको थियो ।
दमकमा विरोध प्रदर्शन पश्चात् भएको कोणसभामा बोल्दै नेकपाका जिल्ला कार्यालय सचिव सञ्जय राईले जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक बस्तुमा नेपाल सरकारले निरन्तर मूल्यवृद्धि गरेको यो अन्यायपूर्ण उत्पीडनलाई मूकदर्शक भएर हेरिरहन्न नसक्ने भन्दै सम्पूर्ण मूल्यवृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन सबैलाई अपिल गरेका थिए।
यता मेचीनगरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगर इन्चार्ज जितले सरकारले जनताको भावनालाई लत्त्याएर एकलौटी ढङ्गले अगाडि बढ्ने दुस्साहस गरेको भन्दै यसका विरुद्ध पार्टीका सबै जन वर्गीय सङ्गठन र समस्त जनसमुदायलाई प्रदर्शनमा उत्रन अपिल गरेका छन् ।
महासचिव विप्लवले बिहीबार प्रेस वक्तव्यमार्फत नेपाल बन्दसहितको सङ्घर्षको कार्यक्रम घोषणा गरेका थिए। महासचिव विप्लवले जारी गरेको विज्ञप्ति अनुसार कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन, कात्तिक, २६ गते प्रचार–प्रसार र साँझ मशाल जुलुस, कात्तिक, २७ गते देशव्यापी प्रदर्शन दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा, कात्तिक, २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम, कात्तिक, २९ गते दिउँसो सिट्ठी जुलुस, साँझ मशाल जुलुस र कात्तिक, ३० गते नेपाल बन्दसम्मका कार्यक्रमहरू रहेका छन् ।