२०८३ असार ३ गते , बुधबार

झापामा जनगणनाको तयारी पूरा, बिहीबारदेखि २६५ सुपरिवेक्षक र ११८७ गणक खटिँदै

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक २४ गते , बुधबार
झापामा जनगणनाको तयारी पूरा, बिहीबारदेखि २६५ सुपरिवेक्षक र ११८७ गणक खटिँदै

झापा । झापाका १५ वटै स्थानीय तहमा भोलि (बिहीबार) देखि हुने राष्ट्रिय जनगणना तथ्याङ्क सङ्कलनको सम्पूर्ण तयारी पूरा भएको छ ।  जिल्ला जनगणना कार्यालय भद्रपुर र दमकले बुधवार जिल्ला प्रशासन कार्यालय झापामा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराएको हो ।  जिल्लामा कार्तिक २५ देखि मङ्सिर ९ गतेसम्म हुने जनगणनाका लागि २६५ सुपरिवेक्षक र ११८७ गणक खटाउन लागेको जिल्ला जनगणना कार्यालय भद्रपुरका प्रमुख चूडामणि लुइँटेलले जानकारी दिए । 

भोलि बिहान प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको आवासबाट जनगणना तथ्याङ्क सङ्कलनको उद्घाटन गर्न लागेको उनले बताए ।   उनका अनुसार सुपरिवेक्षकले जिल्लाको १३१ वटा वडामा गरेको पहिलो चरणको जनगणनाको तथ्याङ्कअनुसार दुई लाख ४७ हजार ५०० घर परिवार रहेका छन् ।  गत भदौ ३० गतेदेखि असोज १९ गतेसम्म पहिलो चरणमा सुपरिवेक्षक परिचालन गरी घर परिवारको सङ्ख्याको विवरण, कृषि तथा पशुपन्छीसम्बन्धी विवरण, बैङ्किङ पहुँचको विवरण सङ्कलन गरिएको थियो । 

घर परिवारको सङ्ख्याअनुसार २०६८ सालको जनगणनाको तथ्याङ्क भन्दा झापामा २२ प्रतिशतले जनसङ्ख्या बढ्ने अनुमान गरिएको उनको भनाई छ । सेनाको ब्यारेक, सशस्त्र प्रहरी बलको गण, प्रहरी कार्यालय र झापा कारागारमा भने कार्यालयबाटै कर्मचारी खटाएर तथ्याङ्क सङ्कलन गरिने छ । 

अन्यत्रबाट आएर बसोबास गर्ने सहर बजार क्षेत्र बिर्तामोड, भद्रपुर, काँकडभिट्टा, दमकमा तथ्याङ्क सङ्कलनमा केही समस्या उत्पन्न हुने सक्ने उनले बताए । अधिकांश घर बहालमा बसेका पटक पटक जाँदासमेत नभेटिने र घरधनीले समेत सहयोग नगरेका कारण वडाका जनप्रतिनिधि र टोल विकास संस्थाका प्रतिनिधिसँग सहकार्य र समन्वय गर्न गणक र सुपरिवेक्षकलाई निर्देशन दिइसकेको उनले बताए । यता जनगणनालाई सफल बनाउनु सबै आआफ्नो तर्फबाट लाग्नुपर्ने प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताएका छन् । 

जनगणनामा धर्म, जाति र भाषाको तथ्याङ्क भर्दा हामी सबै संवेदनशील हुनु पर्ने बताउँदै उनले भने, ‘जसको जे छ, त्यो यथार्थ ढङ्गले तथ्याङ्कमा आउनुपर्छ, त्यसमा अरू व्यक्तिले प्रभाव पार्ने काम गर्नु हुँदैन ।’ जनगणनामा सञ्चारकर्मीहरूले पनि स्थलगत अनुगमन गरिदिन उनले आग्रह समेत गरे । 


सम्बन्धित समाचार