२०८३ असार ३ गते , बुधबार

हल्दिवारीमा नमुना इटाभट्टा सञ्चालन नगर्न आदेश

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक १७ गते , बुधबार
हल्दिवारीमा नमुना इटाभट्टा सञ्चालन नगर्न आदेश
झापा। स्थानीय उपभोक्ताहरूले तीव्र विरोध गरेपछि हल्दिवारी गाउँपालिकाको न्यायिक समितिले नमुना इटाभट्टा सञ्चालन नगर्न आदेश दिएको छ  चारपाने १ मा दर्ता भएको इटाभट्टालाई जबरजस्ती पेलेर हल्दिबारी १ गोलधापमा पुनः सञ्चालन गर्न लागिएको थियो ।
न्यायिक समितिले मङ्गलवार नमुना इटाभट्टा उद्योगका सञ्चालक दिनेश चौलागाईको नाममा पत्र पठाउँदै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ८ को दफा ४७ को उपदफा २ (ञ) बमोजिम स्थानीय उपभोक्ताहरूले उजुरी दिएपछि तत्काल भट्टाको कामकाज सञ्चालन नगर्न निर्देशन दिएको हो ।

चारपाने १ मा दर्ता भएको नमुना इटाभट्टालाई जवर्जस्ती हल्दिबारी १ साबिक गोलधाप ८ मा सञ्चालन गर्न लागिएको हो । स्थानीयहरूको विरोधका बाबजुद उनीहरूको जनस्वास्थ्यलाई प्रत्यक्ष असर पर्ने गरी पेलेर इटाभट्टा सञ्चालन गर्न खोज्दा स्थानीयका तर्फबाट राजकुमार लिम्बु , गोविन्द घिमिरेलगायतले न्यायिक समितिमा उजुरी दिएका थिए । विगत केही महिनादेखि स्थानीयहरू निरन्तर सो इटाभट्टाको विरुद्धमा उत्रिएका छन् । चारपाने १ मा दर्ता भएको नमुना इटाभट्टा, सञ्चालन गर्न लागिएको स्थान हल्दिवारीमा दर्ता भएको देखिँदैन ।त्यसैगरी वातावरण प्रभाव मूल्याङ्कन पनि गरिएको पाइँदैन ।तर, सञ्चालकहरूले चारपाने १ मा दर्ता रहेको नमुना इटाभट्टाको शाखाको रुपमा हल्दिबारीमा सो इटाभट्टा खोलेको दाबी गरेका छन् । त्यस्तै हल्दिबारीमा सञ्चालन गर्नका लागि नमुना इटाभट्टाको वातावरण प्रभाव मूल्याङ्कन गरिएको छैन । नेशनल ब्रिक इन्डष्ट्रिजको नाममा गरिएको वातावरण प्रभाव मूल्याङ्कनको निहुँ पारेर सञ्चालकहरूले हल्दिबारीमा नमुना इटाभट्टा सञ्चालन गर्न लागेका हुन् ।
सशस्त्र द्वन्द्वकलामा स्थानीयको बिना स्वीकृति माओवादीको धम्कीको आँडमा करिब १४ वर्षअघि सो इटाभट्टा स्थापना गरिएको थियो । भट्टाका कारण आसपासमा बसोबास गर्ने मानिसहरूलाई अत्यन्तै प्रतिकुल असर परेको र स्थानीय, भट्टा सञ्चालक र कर्मचारीहरूबिचमा आपसी असमझदारी भई दैनिक रुपमा झैझगडा हुन थालेपछि सञ्चालन भएको ३ वर्षपछि सो भट्टा बन्द भएको थियो । सोही भट्टाका कारण एक जनाको मृत्यु भएको स्थानीयले बताएका छन् । बन्द रहेको सोही भट्टालाई हाल आएर पुनः सञ्चालन गर्न लागिएको हो । भट्टाको साँध सिमाना भएका सँधियार र भट्टाले प्रतिकुल असर पार्ने क्षेत्रका सम्पूर्ण व्यक्तिहरूसँग कुनै स्वीकृति नलिई घरेलु तथा साना उद्योग कार्यालयमा दर्तासमेत नगरी पुनः सो भट्टा सञ्चालन गर्न लागिएको स्थानीय रुकुम गुरुङले बताए । उनले मानव बस्तीसँगै विद्यालय , अस्पताललाई प्रतिकुल असर पार्ने भएपछि आफूहरूले विभिन्न निकायमा निवेदन दिएको जानकारी दिए । सँधियारसहित १२२ जनाले हल्दिबारी गाउँपालिकाको न्यायिक समितिमा भट्टा सञ्चालन हुन नदिन निवेदन दिएका थिए । त्यसअघि उनीहरूले वडा कार्यालयको पनि ध्यानाकर्षण गराएका थिए ।

सम्बन्धित समाचार