२०८३ असार ३ गते , बुधबार

दाउराको प्रयोग घटाउन दिपज्योति सामुदायिक वनका ७८ उपभोक्तालाई ग्यास सिलिन्डर र चुलो वितरण

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक १५ गते , सोमबार
दाउराको प्रयोग घटाउन दिपज्योति सामुदायिक वनका ७८ उपभोक्तालाई ग्यास सिलिन्डर र चुलो वितरण

भद्रपुर । वन, जङ्गल संरक्षणसँगै दाउराको प्रयोग घटाउनलाई ग्रामीण क्षेत्रका बासिन्दालाई ग्यास सिलिन्डर र चुलो वितरण गरिएको छ ।  कचनकवल गाउँपालिका-७ बालुवाडीस्थित दिपज्योति सामुदायिक वन उपभोक्ता समूहले सोमबार १४ औं साधारण सभाको अवसरमा अतिविपिन्न ७८ परिवारलाई एक थान ग्यास सिलिन्डर, एक थान चुलो, एउटा ग्यास लाइटर वितरण गरेको हो । यसअघि वन उपभोक्ता समूहले आफ्ना विपन्न उपभोक्ताका परिवारलाई जाडोको न्याय कपडा (कम्बल) र खटिया वितरण गरिसकेको जनाइएको छ । 


वन उपभोक्ता समूहका अध्यक्ष हरि लिम्बुको अध्यक्षता तथा झापा जिल्ला सामुदायिक वन महासङ्घका अध्यक्ष वेदप्रसाद भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सब डिभिजन वन कार्यालय जलथलका रेन्जर दीपक सेन भण्डारी, कचनकवल ७ नम्बर वडा अध्यक्ष भरत राजवंशी, स्थानीय वन महासंघ कचनकवलका रामचन्द्र अधिकारी, रमेश पौडेल, चेतराज भट्टराई, देविरमण भट्टराई, लक्ष्मी सुब्बा लगायतले मन्तव्य राखेका थिए । वन उपभोक्ता समूहको सांगठानिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष हरि लिम्बुले ३९२ हेक्टरमा फैलिएको यस वनमा वडा नम्बर ६  र ७ का ६३८ घरधुरी आबद्ध छन् । उपभोक्ताको हितका लागि यस वनले हरेक वर्ष केही सुविधा उपलब्ध गराउँदै आएको उनले बताए । 



आर्थिक प्रतिवेदन लेखा संयोजक युवराज खत्री र वार्षिक कार्यक्रम प्रतिवेदन समूहका सचिव पुष्पा कार्कीले प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन समूहका उपाध्यक्ष श्याम घिमिरेले गरेका थिए । त्यस्तै वार्षिक उत्सवको अवसरमा आयोजित दोस्रो दिपज्योति नकआउट फुटबल प्रतियोगिताको उपाधि  मनकामना सामुदायिक वन उपभोक्ता समूहले हात पारेको छ ।

सोमबार मनकामना सामुदायिक वन उपभोक्ता समूह र चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह बिच फाइनल खेलमा सम्पन्न भएको थियो । निर्धारित समयमा दुवै टिमले कुनै गोल गर्न सकेन । त्यसपछि भएको ट्राई ब्रेकरमा मनकामनाले उपाधि चुमेको हो । उपाधि चुमेसँगै मनकामनाले नगद ५० हजार र शिल्ड पाएका थिए, भने उपविजेतामा चित्त बुझाएका चन्द्रगढीले ३० हजार नगद र शिल्ड पाएका थिए । असोज २० गतेदेखि सुरु गरिएको प्रतियोगिता जिल्लाभरिका १८ वटा सामुदायिक वन सहभागी भएका थिए । 

सम्बन्धित समाचार