२०८३ असार ३ गते , बुधबार

बिर्तामोडका मासु व्यवसायीको हत्या गर्ने अपराधी तत्काल पत्ता लगाउन नेपाल मगर सङ्घको माग

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक १० गते , बुधबार
बिर्तामोडका मासु व्यवसायीको हत्या गर्ने अपराधी तत्काल पत्ता लगाउन नेपाल मगर सङ्घको माग

झापा ।  बिर्तामोड–५ महानन्द चोकका मासु व्यवसायी इन्द्रबहादुर मगरको हत्यारा पत्ता लगाउन नेपाल मगर सङ्घ झापाले माग गरेको छ । मासु व्यवसायी मगरको गत असोज २४ गते बीभत्स हत्या गरिएको थियो । 

मगर सङ्घले बुधवार बिर्तामोडमा पत्रकार भेटघाट गर्दै चाँडो भन्दा चाँडो हत्यारा पत्ता लगाएर कानुनी कठघरामा उभ्याउन प्रहरी प्रशासनसँग माग गरेको हो ।  कार्यक्रममा बोल्दै सङ्घका जिल्ला अध्यक्ष जगत् राना मगरले घटना भएको १९ दिन बितिसक्दा पनि अपराधी पत्ता लगाउन नसक्नु दुःख लाग्दो भएको बताए । मगरले भने ‘प्रहरी अनुसन्धानकै क्रममा छ, चित्त बुझ्दो परिणाम नआए सङ्घले थप दबाब मूलक कार्यक्रम गर्दै जाने छ ।’ 

इन्द्रबहादुरका भाइ तिलबहादुर मगरले हत्या भएको दिन दाजुसँग ६ लाख बढी रुपैयाँ साथमा रहेको बताएका छन् । उनका अनुसार हत्यापछि उक्त रकम दाजुको साथमा थिएन । उनले घटना सुनियोजित तरिकाले भएको देखिएपनि आजसम्म हत्यारा पत्ता नलाग्नुले परिवारलाई थप पीडा भएको बताए । दाजुको हत्यापछि परिवारको बिचल्ली भएको उनको भनाई छ । परिवारमा दाजु नै एक मात्र आम्दानीको स्रोत भएको बताउँदै साना छोराछोरीको भविष्य अन्योलमा रहेको बताए । 

कार्यक्रममा मगर राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष ज्योतिसिंह दलार्मी, सङ्घका बिर्तामोड उपाध्यक्ष गजेन्द्र पुलामी मगर, अर्जुनधारा ११ का सङ्घका अध्यक्ष राम बलम्पाकी मगर, विकास थापा मगर, चन्द्र आले मगर, इन्द्रबहादुरकी श्रीमती माया राईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सङ्घका प्रदेश नं। १ सचिव शिवन सोराली मगरले गरेका थिए ।   

सम्बन्धित समाचार