२०८३ असार ३ गते , बुधबार
टुहुरा बालबालिकालाई समाजसेवी प्रसाईँद्वारा सहयोग
झापा । आमाबुवाको निधनपछि बिचल्लीमा परेका झापा गौरीगञ्ज गाउँपालिका- १ कुञ्जीवारिका तीन टुहुरा बालबालिकालाई व्यवसायी तथा समाजसेवी श्याम प्रसाईँ एसपीले आर्थिक सहयोग गरेका छन्
ढुवानी व्यवसायी महासङ्घका केन्द्रीय सदस्य , मेची ट्रान्सपोर्ट एसोसिएसनका वरिष्ठ उपाध्यक्ष समेत रहेका प्रसाईँ तथा उनकी छोरी कृष्टीना प्रसाईँले तीन बालबालिकालाई २१ हजार ९ सय ९९ रुपैयाँ नगदसहित एक–एक जोर कपडा किनिदिएका हुन् ।
आमाबुबाको निधन भएसँगै १५ वर्षिया सरस्वती , १३ वर्षिया पूजा र ६ वर्षीय नीरज राजवंशी टुहुरासँगै बेसहारा बनेको प्रतिदिन दैनिकसहित सामाजिक सञ्जालमा छोरी कृष्टीनाले थाहा पाएसँगै छोरीको चाहना बमोजिम सहयोग गरेको प्रसाईँले जानकारी दिए । प्रसाईँ तथा उनकी छोरीले समितिकी पूजा राजवंशीलाई उक्त सहयोग हस्तान्तरण गरेका थिए ।
केही वर्षअघि बुवाको निधन भएपछि आमा मनसरी राजवंशीले आफ्ना तीन सन्तानलाई पालनपोषण गर्दै आएकी थिइन् । उनको पनि केही महिनाअघि निधन भएको थियो । कोचिला एकता जागरण केन्द्रीय समितिले उनको उपचारको प्रबन्ध मिलाउँदै आएको थियो । समितिले १ लाख ७५ हजार रुपैयाँमा १० धुर जग्गा खरिद गरी धनीपूर्जा हस्तान्तरण गरेको छ ।