पहिलो चरणको जनगणना : झापामा २ लाख ४७ हजार घर परिवार
झापा । पहिलो चरणको जनगणनाको तथ्याङ्कअनुसार १५ स्थानीय तह रहेको जिल्लामा दुई लाख ४७ हजार २३६ घर परिवार रहेका छन् । जिल्ला जनगणना कार्यालय झापाले १५० जना सुपरिवेक्षक परिचालन गरी सो तथ्याङ्क सङ्कलन गरेको हो ।
गत भदौ ३० गतेदेखि असोज १९ गतेसम्म पहिलो चरणमा जिल्लाका १३१ वडाबाट कार्यालयले सुपरिवेक्षक परिचालन गरी घर परिवारको सङ्ख्याको विवरण, कृषि तथा पशुपन्छीसम्बन्धी विवरण, बैंकिङ पहुँचको विवरण सङ्कलन गरेको कार्यालयका प्रमुख चूडामणि लुइँटेलले बताए ।उनले सुपरिवेक्षकलाई तथ्याङ्क सङ्कलन गर्ने कार्य शहर बजारमा भन्दा ग्रामीण क्षेत्रमा सहज भएको बताए । प्रायः शहरबजार क्षेत्रका बिर्तामोड, भद्रपुर, काँकडभिट्टा, दमकमा तथ्याङ्क सङ्कलनमा समस्या भएको हो ।
अधिकांश घर बहालमा बसेका पटकपटक जाँदासमेत नभेटिने र घरधनीले समेत सहयोग नगरेका कारण समस्या भएको उनको भनाइ छ । प्रमुख लुइँटेलले अन्य पालिकाको तुलनामा बाह्रदशी र बुद्धशान्ति गाउँपालिकामा विगतको तुलनामा उलेख्य मात्रमा घर परिवारको सङ्ख्या बढी देखिएको जानकारी दिए । उनका अनुसार सेनाको ब्यारेक, सशस्त्र प्रहरीे बलको गण, प्रहरी कार्यालय र कारागारमा भने कार्यालयबाटै कर्मचारी खटाएर तथ्याङ्क सङ्कलन गरिने छ ।