२०८३ असार ३ गते , बुधबार
दुहबी सबस्टेशन डुबानमा परेपछि प्रदेश १ का जिल्लामा विद्युत् सेवा अवरुद्ध
झापा । सोमवारदेखि परिरहेको वर्षाका कारण सुनसरीको दुहबी सबस्टेशन डुबानमा परेको छ । प्रदेश नं १ का जिल्लाहरूमा विद्युत् आपूर्ति गर्ने मुख्य दुहबी सबस्टेशन डुबानमा परेपछि मङ्गलवार बेलुकीदेखि मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुरलगायतका जिल्लामा विद्युत् आपूर्ति बन्द भएको छ । सबस्टेशन डुबानमा परेपछि अहिले त्यहाँबाट आपूर्ति हुने लाइन काटिएको विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘बाढी पसेर सबस्टेशन डुबानमा परेपछि त्यहाँबाट विद्युत् आपूर्ति गर्ने लाइन काटिएको छ, यसबाट प्रदेश नं १ का जिल्ला ब्ल्याक आउट भएको छ’, उनले भने, ‘सबस्टेशनको नियन्त्रण कक्ष डुबानमा परेको छ, अहिलेसम्म मुख्य उपकरणमा क्षति नपुगेको जानकारी पाएका छौँ, पानी नरोकिएमा उपकरणहरूमा ठुलो क्षति पुग्ने देखिएको छ, यस्तो भएमा त्यस क्षेत्रमा विद्युत् आपूर्ति केही दिन बन्द हुन सक्छ, अहिले सबस्टेशनभित्रको पानी हटाएर उपभोक्तालाई जतिसक्दो छिट्टो विद्युत् आपूर्ति उपलब्ध गराउन हाम्रो टिम प्रयासरत छ ।’
सबस्टेशनको पानी हटाउनका लागि आवश्यक सहयोग गरिदिन स्थानीय सरकार, प्रशासन, नेपाली सेना, नेपाल प्रहरीलगायतलाई आग्रह गरिएको घिसिङले बताए ।
उनले दुहबी सबस्टेशन बन्द हुँदा काबेली करिडोर १३२ केभी प्रसारण लाइन पनि बन्द भएको बताउनुभयो । यसबाट काबेली करिडोरमा जोडिएका झन्डै १७० मेगावाटका जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादन पनि बन्द भएको छ ।
वर्षाका कारण विभिन्न स्थानमा रुख ढल्दा अत्तरिया–चमेलिया १३२ केभी प्रसारण लाइन र अन्य ३३ तथा ११ केभी लाइनमा क्षति पुगेको छ । यसबाट दार्चुलामा सञ्चालन रहेको ३० मेगावाटको चमेलियालगायतका जलविद्युत् आयोजनाको विद्युत् उत्पादनसमेत बन्द भएको छ । सुदूरपश्चिमका डडेल्धुरा, बैतडी, बझाङ, अछामलगायतका पहाडी जिल्लाको विद्युत् आपूर्तिसमेत बन्द भएको छ ।