पत्रकार सन्तोष आचार्यको ‘रिडर्स गफ’ लोकार्पण
झापा । पत्रकार सन्तोष आचार्यको ‘रिडर्स गफ’ नामक कृति लोकार्पण भएको छ । वरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेलले विर्तामोडको शिक्षा सहकारी सभाहलमा आयोजित एक कार्यक्रममा पुस्तकको लोकार्पण गर्दै कृति गहकिलो र स्तरीय भएको बताए ।
विचार मञ्च अनलाइनका सम्पादक तथा सूर्योदय टेलिभिजनका अन्तरवार्ताकार आचार्यको यो पहिलो प्रकाशित कृति हो । विभिन्न राजनीतिक तथा सामाजिक विषयवस्तुलाई आधार बनाएर पत्रपत्रिकामा उनी रिडर्स गफ स्तम्भमा लेख लेख्दै आएका थिए । तिनै लेखको संगालोको रुपमा कृति प्रकाशित भएको हो ।
रिडर्स झापाका संस्थापक अध्यक्ष तथा लेखक उज्ज्वल प्रसाईले कृतिले समयको चोटिलो आवाज बोलेको जनाउँदै झापाली पत्रकारहरु सृजनशील बन्नु पर्ने आफ्नो मान्यता रहेको बताए । प्रकाशकका तर्फबाट मिडिया रिसर्च सेन्टरका प्रमुख तथा पत्रकार तीर्थ सिग्देलले रिडर्स गफ लेखकको सशक्त कलमको उपज रहेको बताए ।
कृतिको भाषा सम्पादन गरेका विश्वविद्यालयका शिक्षक जनार्दन दाहालले रिडर्स गफ निबन्ध संग्रह भएको र यसमा यात्रा संस्मरण, शैक्षिक बेथिति, राजनीति र दर्शन, समाज सुधार, चेलीबेटी बेचविखन, देशप्रेम लगायत स्थानीय विषयवस्तु समेटिएको बताए । कहिलकाहिँ गफहरु पनि स्तम्भ लेखनका खुराक हुने जनाउँदै दाहालले निबन्धमा बहुलबादी दृष्टिकोण र सामाजिक विकृति विसंगतिको चिरफार भएको बताए ।
पत्रकार सरोज पौडेलले सञ्चालन गरेको लोकार्पण समारोहमा साहित्यकार कुमार भट्टराई, साहित्यकार लीला अनमोल र कृतिकार आचार्यले आफ्ना धारणा र पुस्तकको रचनागर्भका विषयमा बोलेका थिए । कार्यक्रममा पत्रकार, प्राध्यापक र साहित्यकारहरुको उपस्थिति रहेको थियो ।