२०८३ असार ३ गते , बुधबार
खतिवडाद्वारा पत्रकार उपचार कोषमा सहयोग
बिर्तामोड । झापाको अर्जुनधारा स्थित शंखराचार्य पीठ साधुटारका अध्यक्ष ब्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाले पत्रकार सहारा उपचार कोषलाई ९ हजार ९ रुपैयाँ प्रदान गरेका छन् ।
नवरात्रको अवसरमा आचार्य खतिवडाले पत्रकारहरूको उपचार कोषमा सहयोग प्रदान गरेका हुन् । आइतबार साधुटार स्थित शंखराचार्य पीठमा महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई र कार्यसमिति सदस्य होमप्रकाश अधिकारीलाई उक्त रकम प्रदान गरेका हुन् ।
रकम हस्तान्तरण गर्दै आचार्य खतिवडाले दिनरात सञ्चार कर्ममा लागेर हरेक नागरिकलाई सु–सूचित गर्न अहोरात्र खट्ने पत्रकारलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले झापाली पत्रकारले देशको राजनीतिसँगै धार्मिक संकृतिको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे ।
महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरू बिरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीका अनुसार कोषमा हाल ४५ लाख रुपैयाँ जम्मा भइसकेको छ । कोषमा सहयोग जुट्ने क्रम जारी छ ।
महासंघ झापा शाखाले सङ्घ–संस्था, सहकारी, बैङ्क, दाता सबै क्षेत्रलाई एक पटक पत्रकारको दिगो हितका लागि स्थापना भएको उपचार कोषमा सहयोग गर्न आव्हान गरेको छ ।