बिर्तामोडमा साहित्य, कला, संस्कृति प्रतिष्ठानको स्थापना
झापा । झापामा साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोडको स्थापना गरिएको छ । साहित्यकार , गीतकार ,कलाकार भगवती ढुङ्गेलको अध्यक्षतामा स्थापना भएको साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोडको उपाध्यक्षमा इन्द्रप्रसाद कटुवाल , सचिवमा पवन सिवाकोटी, सहसचिवमा रेवता भट्टराई, कोषाध्यक्षमा सीता कुँवर, र सदस्यहरूमा लोकबहादुर सुवेदी र मुना प्रसाईँ रहेका छन् ।
साहित्य कला संस्कृतिमा रुचि राख्ने व्यक्तिहरूको अन्तर निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोडको स्थापना गरिएको अध्यक्ष ढुङ्गेलले बताइन् । साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोडले पहिलो कार्यक्रमको रुपमा दसैँ, तिहार , छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा कृति विमोचन कार्यक्रम गरेको छ ।
बिर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाईँ साहित्य सेवा कोषको सभा हलमा आयोजित कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष भगवती ढुङ्गेलको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार सिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराई ,समीक्षक तथा कवि डा. ठाकुरप्रसाद पोखरेल , साहित्यकारहरू शिवकुमार पौडेल , पुण्यप्रसाद खरेल, गोपाल सङ्ग्रौला, कुमार भट्टराई, एनवी दाहाल, हस्त परियार , हरि रिमाल, विनोद खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै साहित्यकार तथा प्राध्यापक देवी सङ्ग्रौला , तुलसीप्रसाद भट्टराई, टीका चापागाईँ , अच्युत दाहाललगायतले रचना वाचन गरेका थिए भने गायक तथा कलाकार मातृकाप्रसाद सङ्ग्रौलाले गीत प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा उदीयमान कवि विजय सङ्ग्रौलाद्वारा लिखित अन्तिम बिदाइ नामक कविता सङ्ग्रहको विमोचन समेत गरिएको थियो । उक्त कृतिको समीक्षा साहित्यकार तथा प्राध्यापक देवी सङ्ग्रौलाले गरेका थिए ।
कार्यक्रममा लेखक सङ्ग्रौलाले अन्तिम बिदाइ आफ्नो पहिलो कृतिका रुपमा सार्वजनिक गरिएको बताए । कार्यक्रममा साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोडका पदाधिकारीहरूलाई प्रमाण पत्र वितरण गरिएको थियो भने अन्तिम विदाईका लेखक विजय सङ्ग्रौलालाई उदीयमान लेखकको रुपमा सम्मान गरिएको थियो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सन्तोष आचार्य , साहित्य चौतारी झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ, गायिका निर्जला प्रसाईँ, जयेन्द्रप्रसाद प्रसाईँ साहित्य सेवा कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईँ, मोडल जनक खड्का , सीता सङ्ग्रौलालगायतको आतिथ्य रहेको थियो ।
प्रतिष्ठानका उपाध्यक्ष इन्द्रप्रसाद कटुवालले स्वागत गरेको कार्यक्रमको सञ्चालन बिर्ता ज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलाले गरेका थिए ।