२०८३ असार ३ गते , बुधबार

स्वास्थ्यकर्मीमाथि हातपात

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन २२ गते , शुक्रबार
स्वास्थ्यकर्मीमाथि हातपात

बैतडी । यहाँ स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । पुर्चौडी नगरपालिका–१ स्थित हाट स्वास्थ्यचौकीमा कार्यरत दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको हो । पुर्चौडी–१ कुडीखेत टोलका सुरेन्द्रबहादुर धनुसेले मदिरा सेवन गरी बिहीबार बेलुका महिला स्वास्थ्यकर्मीमाथि हातपात गरेका हुन् ।  

कार्यालयमै रहेका बेला बेलुका साढे ७ः ०० बजेतिर मदिरा सेवन गरेर आएका धनुसेले स्वास्थ्यकर्मीमाथि गालीगलौज र हातपात गरेको स्वास्थ्यचौकी इन्चार्ज हेल्थ असिस्टेन्ट दीपेन्द्रबहादुर धामीले बताए । कोरोना खोप नलगाएको भन्दै मदिरा सेवन गरेर स्वास्थ्यकर्मीमाथि हातपात र गालीगलौज गरेको बुझिएको छ ।

स्वास्थ्यकर्मीमाथि आक्रमण हुन थालेपछि असुरक्षित महसुस भएको इन्चार्ज धामीले बताए । घटनापश्चात हाट स्वास्थ्यचौकीका इन्चार्ज हेल्थ असिस्टेन्ट धामीलगायत चार जनाले  धनुसेविरुद्ध प्रहरी चौकी पुरघाट निवेदन दिएका छन् ।

हातपात र गालीगलौज गरेको भन्दै चार जनाले निवेदन दिएका प्रहरी चौकी पुरघाटका प्रहरी निरीक्षक निराजन सुनारले जानकारी दिए । उनले भने, “हातपात र गालीगलौज गरेको भनेर चार जना स्वास्थ्यकर्मीले निवेदन दिएका छन्, घटना के हो, के कारणले घटना भयो भन्ने खुलेको छैन, दुवै पक्षलाई बोलाएर छलफलपछि थाहा हुन्छ ।” हातपात र गालीगलौज गर्ने धनुसे भने फरार रहेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ । रासस

सम्बन्धित समाचार