तीन बुँदे सहमति कार्यान्वयनप्रति सरकार उदासीन, विप्लव माओवादी असन्तुष्ट
तीन बुँदे सहमति कार्यान्वयनप्रति सरकार उदासीन, विप्लव माओवादी असन्तुष्ट
झापा । नेपाल कम्प्युनिष्ट पार्टीले तीन बुँदे सहमति कार्यान्वयनप्रति सरकार उदासीन भएको भन्दै असन्तुष्टि जनाएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गत फागुन २० गते सरकारसँग तीन बुँदे सहमति गरेको थियो । सहमति अनुसार विप्लव समूहका पक्राउ परेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई विना शर्त रिहा गर्ने सहमति भएको थियो । सहमति भएको लामो समयसम्म पनि सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असन्तुष्टि जनाएको हो ।
इलाममा सहमति कार्यान्वयन गर्न सरकारलाई दबाब दिने उद्देश्यले प्रदर्शन समेत भएको छ । इलामको मुख्य चोक बजारमा सम्पन्न प्रदर्शनलाई नेकपा इलामका सचिव मौसमले सम्बोधन गरेका छन् । उनले तीन बुँदे सहमतिप्रति सरकारले वेइमानी गरे आफूहरु कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए । जनताको पहलमा संघर्ष गर्दै आएको भन्दै उनले सरकारले इमान्दारिता देखाउनु पर्ने बताए । नेपाल कम्युनिष्ट पार्टीलाई दबाबमा राख्ने वा गलाउने सपना देख्न नेपाल कम्युनिष्ट पार्टीले चेतावनी समेत दिएको छ ।
यसैबीच इलाममा नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपालको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधवार सम्पन्न सम्मेलनले मदन गजमेर विद्रोहीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति गठन गरेको छ । सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य तथा इलाम जिल्ला इञ्चार्ज सुमन सिंह, युवा संगठनका मेची–कोशी व्यूरो संयोजक सुवास राई, इलाम सेक्रेटरी जीतमान राई मौसम र जिल्ला सदस्यहरुको सहभागिता रहेको थियो ।
सम्मेलनमा केन्द्रीय सदस्य एवम् इलाम जिल्ला इञ्चार्ज सुमन सिंहले इलाममा शहीदहरुको रगत र घाइते अपाङ्ग योद्धाहरुको योगदान तथा आम इलामेली जनताको सपना स्मरण गर्दै त्यो पूरा गर्न नेपाल कम्युनिष्ट पार्टी कटीबद्ध रहेको उल्लेख गरे । उनले जनताको पार्टी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मात्र भएको उल्लेख गरे ।
सम्मेलनमा सहभागी नेताहरुले नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ र एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले कम्युनिष्टको नाममा जनतालाई गुमराहामा राखेको आरोप लगाए । उनीहरुले इलामको विकासका लागि भन्दा पनि आफ्नो व्यक्तिगत विकासका लागि मात्र काम गरेको आरोप समेत लगाए । नेपाल कम्युनिष्ट पार्टीले शान्तिपूर्ण रुपमा जनताका आवाजहरुलाई उठाउँदा सत्तामा रहेका नेताहरुले प्रतिबन्ध लगाउन खोजेको भन्दै त्यसको प्रतिवाद जनताले गर्ने चेतावनी समेत दिएका छन् । सम्मेलनको सञ्चालन विनोद मगरले गरेका थिए ।
त्यस्तै जिल्लाको ११औं पूर्ण बैठकले जनतालाई साथमा लिएर भ्रटाचारीविरुद्ध संघर्षमा उत्र्ने नेपाल कम्युनिष्ट पार्टीले निर्णय समेत गरेको छ । सामाजिक अपराधविरुद्ध संघर्ष गर्नुका साथै एमसीसीबिरुद्ध निरन्तर संघर्षका कार्यक्रम अगाडि बढाउने विप्लव माओवादीले निर्णय समेत गरेको छ । मंसीर ८ गते काठमाडौंमा हुने विशाल जनसभालाई पूर्ण सफल बनाउन अहिलेबाट नै गाउँ–गाउँमा प्रशिक्षण तथा चेतनामूलक कार्यक्रमलाई अगाडि बढाउने निर्णय समेत गरेको इलाम इञ्चार्ज सुमन सिंहले जानकारी दिए ।