२०८३ असार ३ गते , बुधबार
झापालाई त्रिदेशीय व्यापारिक केन्द्र बनाउन पहल
झापा । नेपाललाई उत्तर—दक्षिण जोड्ने सबैभन्दा छोटो बाटो त्रिदेशीय मार्ग निर्माणमा जनप्रतिनिधिहरूले चासो देखाएका छन् । दक्षिणमा भारतसँग जोडिएको गौरीगञ्ज र उत्तरमा चीनसँग जोडिएको ताप्लेजुङलाई सडक सञ्जालले जोड्न सके झापा त्रिदेशीय व्यापारिक केन्द्र बन्न सक्नेमा जनप्रतिनिधिहरू एकमत रहेका छन् ।
भारतको फत्तेपुर नाकाबाट गौरीगञ्जलाई जीरोबिन्दु मानेर ताप्लेजुङसँग जोडिएको चीनको सिमानाका घुन्सा घाङ्लासँग सडक सञ्जाललाई जोड्न सके झापाको दमक त्रिदेशीय व्यापारिक केन्द्र बन्न सक्ने दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले बताए । उनले यो सडक सरकारको प्राथमिकतामा पर्न सके तराई र पहाडलाई व्यापारिक मार्गको रुपमा सहज जोड्न सकिने बताएका छन् । उनले भने– ‘स्थानीय तहको प्रयासले मात्र यो सम्भव छैन, यसलाई सङ्घीय सरकारले प्राथमिकतामा राख्नुपर्छ ।
यसैगरी गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले त्रिदेशीय मार्गको विकास योजनालाई प्राथमिकतामा राखेर सम्पन्न गर्नसके मधेस र पहाडको व्यापारिक सम्बन्ध नजिक हुनुका साथै नेपाल, भारत र चीनसँगको त्रिदेशीय व्यापारमा सहज हुने बताए । मेयर साहले भने– ‘आयात र निर्यातका लागि बंगालादेश, भारत, नेपाल र चीनको व्यापारिक मार्गको रुपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न यो सडक उपयोगी हुन्छ ।
भारतको फत्तेपुर सीमा नाकासँग जोडिएको झापाको गौरीगञ्ज यस मार्गको दक्षिणी भेगको जीरोबिन्दु अर्थात् बेस पोइन्ट बन्ने भएकाले यो मार्ग निर्माण गर्न आफ्नो तर्फबाट सक्दो भूमिका निर्वाह गर्ने गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए । उनले भने– ‘यो मार्ग बन्नुपर्छ भन्ने जनचाहना आजको मात्र होइन, उनले पञ्चायतकलामा नै यो योजना अघि बढाउन गृहकार्य भएको थियो ।
इलामको माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्गो यो मार्गको मुख्य मेरुदण्ड भनेकै दमक–चिसापानी–रवि सडक खण्ड भएकाले पहिलो प्राथमिकतामा यो निर्माणाधीन अवस्थामा रहेको सडक सम्पन्न गर्नसके अझै ठुला योजनाले प्राथमिकता पाउन सहज हुने बताउँछन् ।
उनले भने– ‘अहिलेको प्राथमिकता भनेको पहाडी इलाका रवि, चिसापानी, माङ्सेबुङका जनताले तराई भू–भागका बजार विशेष गरेर दमकसँग सहज यातायात सञ्जालका माध्यमबाट बजारसँग जोडिन सक्नु हो । हिउँद र वर्षा हरेक समयमा यो सडक सञ्चालन गर्नसके त्रिदेशीय मार्ग निर्माणमा थप बल पु¥याउन सकिन्छ ।’
निर्माणाधीन अवस्थामा रहेको दमक—चिसापानी–रवि सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष रेवतराज पुरी ९गगन० ले अब पन्ध्र महिनाभित्र दमक–चिसापानी ९फाल्गुननन्द मार्ग० कालोपत्रे भइसक्ने बताए ।