२०८३ असार ३ गते , बुधबार
झापामा विश्व अहिंसा दिवस मनाइयो
झापा । झापामा विश्व अहिंसा दिवस मनाइएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रदेश नम्बर १ जिल्ला कार्य समिति झापा र चारपाने प्रारम्भिक समितिको आयोजनामा विश्व अहिंसा दिवस मनाइएको हो । दिवसको अवसरमा चारपानेमा कोणसभा तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।
विश्वमै अहिंसाका लागि उदाहरणको रुपमा मानिएका भारतका महात्मा गान्धीको जन्मदिन अक्टोबर २ तारिखमा विश्व अहिंसा दिवस मनाउने गरिन्छ ।
सो अवसरमा परिषद् झापाका अध्यक्ष टहलदास ओलीले दिगो शान्तिविना समाज र मुलुकले विकास र समृद्धि हासिल गर्न नसक्ने भएकाले हिंसालाई निर्मूल गर्नेतर्फ विश्वभरकै सरकार र राजनीतिक दलहरूको ध्यान जानुपर्ने बताए ।
साथै उनले निर्दोष प्राणीहरूको हत्या बन्द गरी समाजमा प्रेमको भावनालाई उजागर गर्न सक्नु पर्ने धारणा राखेका थिए । कार्यक्रममा परिषद्का केन्द्रीय सदस्य दीपक दिनेश दाहाल चारपाने प्रा.सका अध्यक्ष वासु पाण्डेले हिंसारहित समाज निर्माणमा प्रेरित गर्दै अहिंसा र प्रेममय विचारतर्फ उत्प्रेरित गर्ने अभियान देशव्यापी चलाउन जरुरी रहेको बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य मदन अधिकारी, जिल्ला उपाध्यक्ष समर्पण खतिवडा, बिर्तामोड प्रारम्भिक समितिका अध्यक्ष दिनोज बजगांइ सहित सहभागी जिल्ला कार्य समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्य, चारपाने प्रा.स.का पदाधिकारी तथा सदस्यहरू , बाइजुराज महिला समिति लगायतले आफूलाई बचनले पनि मन दुख्ने जनावरलाई चाहिँ छुरी रोप्दा पनि रमाउने यो कस्तो मानवीयता ?,काम, क्रोध, लोभ, मोह आदि अवगुणहरूको बली गरौँ, पशुको होइन, नमारौँ कठै पशुपक्षीलाई ती हुन् मायाको भागिदार, पशु बलिले हत्या, हिंसालाई बढाउँछ, प्रोत्साहन नदिऔँ लगायतका चेतना मुलुक तथा सन्देशमूलक प्ले कार्ड सहित उपस्थित भएका थिए ।
मठमन्दिर रक्तरञ्जित होइन शान्ति आस्था र सद्भावको थलो बनाऊँ भन्ने मूल सन्देश सहित जिल्ला तथा देशैभर आज कार्यक्रम गरिएको परिषद्का उपाध्यक्ष सुरज सापकोटाले जानकारी दिए । कार्यक्रमको सञ्चालन जिल्ला परिषद् झापाका सचिव मोहन अधिकारी तथा चारपाने प्रा.सका सचिव प्रवेश सिवाकोटीले गरेका थिए ।