भद्रपुरकी बालिका कुटपिट प्रकरण : प्रहरी-प्रशासनले कारबाही नगरेको भन्दै १५ वटा सङ्घसंस्थाले जनाए आपत्ति
भद्रपुर । बालमैत्री घोषित नगरमा भद्रपुरकी ११ वर्षीय बालिकालाई हात बाँधेर कुटपिट गर्ने व्यक्तिलाई प्रहरी प्रशासनले कारबाही दायरमा नल्याएको भन्दै झापाका सङ्घ संस्थाले आपत्ति जनाएको छ । झापाका सङ्घ संस्थाका प्रतिनिधिहरूले शुक्रबार एक संयुक्त विज्ञप्ति निकाल्दै पीडित पक्षलाई न्याय दिलाउन जोडदार माग समेत गरेका छन्। गत असोज ४ गते सुनसरी जिल्ला इनरुवा नगरपालिका–६ घर भएका अन्दाजी ३० वर्षीय अनिल पौडेलले हात बाँधेर अनुहार र शरीरभरि निल डाम हुने गरी ती बालिकालाई निर्घात कुटपिट गरेका थिए । पौडेलले भद्रपुर–५ स्थित नयाँ बजारमा रहेको मेची बहुउद्देश्यीय कृषि फर्मभित्रै ती बालिकालाई कुटेका थिए । फर्ममा बाख्रा छिरेको निहुँमा पौडेलले ती बालिकामाथि कुटेको प्रहरीले जनाएको छ ।
भद्रपुर कृषि फर्ममा काम गर्ने एक व्यक्तिले गरेको अमानवीय दुर्व्यवहारप्रति प्रहरी प्रशासन मौन बसेको घटना प्रकरणमा झापाका सङ्घ संस्थाका प्रतिनिधिहरूले आपत्ति प्रकट गर्दै पीडित पक्षलाई न्याय दिलाउन माग गरेका छन्। प्रहरीमा उजुरी परेपछि आर्थिक लेनदेनमा घटना गुपचुप मिलाइएको थियो । यता घटना मेलमिलाप गराएको र बालिकामाथि भएको त्यस्तो जघन्य अपराधमा आपसी मेलमिलाप गराउँदा बालबालिकाको स्वतन्त्र पूर्वक बाँच्न पाउने अधिकार कुण्ठित भएको भन्दै वाल सञ्जाल भद्रपुरले दिएको उजुरीमा जिल्ला प्रहरी कार्यालयले बेवास्ता गरेकोप्रति १५ वटा सङ्घ संस्थाले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्।
विज्ञप्तिमा भनिएको पीडित वालिकालाई यथाशीघ्र न्याय दिलाउन शालीन आग्रह गर्दै प्रदेश १कै पहिलो वाल मैत्री नगर पालिका भद्रपुरलाई पनि अमानवीय व्यवहार विरुद्ध विज्ञप्ति जारी गरेर मात्र दायित्व पूरा नहुने भन्दै गम्भीर भएर लाग्न ध्यानाकर्षण समेत गराएको छ। भद्रपुर जेसीजका अध्यक्ष खिलनाथ पाण्डे (निकासु), नेपाल बाल सङ्गठन झापाका उपाध्यक्ष फणीन्द्र दाहाल, राजवंशी समाज विकास समितिका संयोजक र सचिव उत्तम राजवंशी र पुनम राजवंशी,वाल ज्योति समूह भद्रपुरकी उषा राजवंशी, एविसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौला, मानव अधिकारका लागि महिला एकल महिलाकी झापा अध्यक्ष रेखा अधिकारी, नेपाल राष्ट्रिय बंगाली समाजका केन्द्रीय सदस्य अनुप राय, साना हातहरू नेपालका शाखा प्रबन्धक विक्रम वाग्ले, सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरका महासचिव दीपक अधिकारी, मैथिल समाजका झापा अध्यक्ष रमेशचन्द्र झा, लायन्स क्लब अफ भद्रपुरका अध्यक्ष योगेन्द्र पौडेल, रेडक्रस भद्रपुरका सभापति गोपाल गिरी लगायतले विज्ञप्ति जारी गरेका हुन् ।