२०८३ असार ३ गते , बुधबार

मेची भन्सारमा राजश्व छली : बङ्गलादेशबाट आयातित परान जुसको ट्रकमा १५ काटुन रसबरी भेटियो

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन १४ गते , विहीबार
मेची भन्सारमा राजश्व छली : बङ्गलादेशबाट आयातित परान जुसको ट्रकमा १५ काटुन रसबरी भेटियो

(पार्थ मण्डल) झापा । तेस्रो मुलुकबाट आयातित जुसको ट्रकमा १५ काटुन् रसबरी  भेटिएको छ ।  बङ्गलादेशबाट भारत हुँदै काँकडभिट्टा नाकाबाट मेची भन्सार कार्यालय प्रवेश गरेको प्र-१-०१-००१ ख ३५७७ नेपाली नम्बरको १० चक्के ट्रकमा १५ काटुन् रसबरी बढी भेटिएको मेची भन्सार कार्यालयका सूचना अधिकारी रामेश्वर कुमार मिश्रले जानकारी दिए ।

व्यापारीले सो ट्रकमा बङ्गलादेशमा उत्पादित परान कम्पनीका जुस ल्याएका थिए । भन्सार एजेन्ट मोहन निरौलाले बुधवार बिलबिजक अनुसार ट्रकमा ल्याएको जुसको परिणाम घोषणा गरेपछि सामान जाँच पास गर्ने क्रममा भारतमा उत्पादित १५ काटुन् रसबरी बढी भेटिएको सूचना अधिकारी मिश्रले बताए । 

एउटा कार्टुनमा १६ डब्बा अर्थात् जम्मा २४० डब्बा रसबरी भेटिएको हो ।  ट्रकभरि त्रिपालले छोपेर ल्याएको जुस मेची कोसी ट्रेडिङ काठमाडौँको रहेको बताइएको छ । भन्सार एजेन्ट निरौला मेची भन्सार एजेन्ट सङ्घका अध्यक्ष तथा मेची उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हुन् । भन्सारभित्र जुसको ट्रकमा रसबरी भेटिएपछि भन्सारले बुधवार सामान पठाएन । 

सामान नपठाएपछि भन्सार कर्मचारीमाथि एजेन्ट र व्यापारीले दबाब दिने काम गरेको भन्सारनिकट स्रोत जनाएको छ । यता मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जुसको ट्रकमा भेटिएको रसबरीलाई भन्सार ऐन अनुसार कारबाही गरिने बताए । जुसको ट्रकलाई राजश्व तिराएर आजै छाडिदिने बताउँदै उनले भने, 'रसबरीलाई दुई सय प्रतिशत जरिवाना तोकी कारबाही गछौं ।'  


सम्बन्धित समाचार