२०८३ असार ३ गते , बुधबार

मृत्यु भइसकेकाहरूको नामबाट भत्ता लिने पाँचजनाविरुद्ध मुद्दा दर्ता

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन १३ गते , बुधबार
मृत्यु भइसकेकाहरूको नामबाट भत्ता लिने पाँचजनाविरुद्ध मुद्दा दर्ता

उदयपुर । जिल्लाको रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँचजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ। 


मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्ताबापतको रकम निकासा गरी आर्थिक अनियमितता गरेको भन्दै आचार्यसहित तत्कालीन गाविस सचिव लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद खतिवडा र पुष्पराज सिग्देलविरुद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

तत्कालीन गाविस सचिवहरूले मृत्यु दर्ता भएपश्चात् मृतकको सामाजिक सुरक्षाभत्ता वितरणको भरपाईमा कैफियत जनाई लगत कट्टा गर्नुपर्नेमा मृतक लाभग्राहीका नाममा साथै दोहोरो नामको भरपाई बनाएर भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो।

उजुरीपश्चात् छानबिन गर्दा रु १६ लाख ४० हजार ५०० हिनामिना गरेको खुल्न आएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए। रिसालका अनुसार उक्त गाविसमा सातआठ वर्षअघि नै मृत्यु भइसकेकाको व्यक्तिका नाममा आर्थिक वर्ष २०६३-६४ सालदेखि २०७-०७२ सालसम्म बनावटी नाममा सामाजिक सुरक्षा भत्ताबापतको रकम निकासा गरी अनियमितता गरेको देखियो।

अख्तियारले तत्कालीन गाविस सचिव केशवप्रसाद आचार्यसँग नौ लाख ९० हजार ५००, लोकेन्द्र कार्कीसँग ७८ हजार, विशाल सुन्दाससँग ८२ हजार, माधवप्रसाद खतिवडासँग तीन लाख १४ हजार र पुष्पराज सिग्देलसँग एक लाख ७६ हजार रुपैयाँ सजायको मागदाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ एवं दफा ३५ बमोजिम अदालतमा आरोपपत्र दायर गरेको हो।

तत्कालीन गाविस सचिव केशवप्रसाद आचार्य हाल मालपोत कार्यालय उदयपुरमा, लोकेन्द्र कार्की रौतामाई गाउँपालिका–७ को वडा सचिव पदमा, विशाल सुन्दास तथ्याङ्क कार्यालय उदयपुरमा, माधवप्रसाद खतिवडा रौतामाई गाउँपालिकाको कार्यालयमा शाखा अधिकृतका रूपमा कार्यरत छन् भने पुष्पराज सिग्देलले सेवाबाट अवकाश पाइसकेका छन्। रासस

सम्बन्धित समाचार