कनकाई वनमा लगाइएको ताला खुल्यो
झापा । सत्तारुढ गठबन्धनका युवा सङ्गठन र विद्यार्थीहरूले कनकाई सामुदायिक उपभोक्ता समूहको वन कार्यालयमा लगाएको ताला आजबाट खुल्ला गरिइएको छ । गत वैशाख २ गतेका दिन नेवि सङ्घ, वाइसिएल, अखिल क्रान्तिकारी, तरुण दल लगायतका विद्यार्थी तथा युवा सङ्गठनले कनकाई सामुदायिक वन समूहमा निर्वाचनको मतगणनामा धाँधली भएको भन्दै ताला लगाएका थिए ।तालाबन्दी पछि लामो समयसम्म कनकाई सामुदायिक वन समूहमा काम गर्ने वन हेरालु देखि कर्मचारीले समेत तलब खान पाएका थिएनन् भने वन समूहमा पालिएका जनावरको समेत बिजोग भएको थियो ।
यतिसम्मकी कनकाई वन समूहले बिजुलीको बिल नतिरेको भन्दै विद्युत् प्राधिकरणले बिजुली समेत काटिदिएको थियो । आज सामुदायिक वन महासंघ नेपाल कनकाई नगर समितिका अध्यक्ष दधिराम पोखरेलको सभापतित्व तथा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा भएको सामूहिक छलफलपछि हाललाई तत्काल ताला खोल्ने सहमति बनेको हो । कोही पनि पदाधिकारीलाई काममा फर्कन नदिने र तत्काललाई दसै तिहार सम्मका लागि कर्मचारीबाटै काम सञ्चालन गर्ने सहमति बनेको महासङ्घका अध्यक्ष दधिराम पोखरेलले बताए । हाल कनकाई सामुदायिक वन समूहको मत गणनाको विषयमा पुनरावेदन अदालत इलाममा मुद्दा चलिरहेको छ । तिहारपछि पनि मुद्दाको किनारा नलागेमा पुन सर्वदलीय सर्वपक्षीय छलफलबाट पुन निर्णय गरिने निर्णय भएको छ ।
छलफलमा नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, एमालेका अध्यक्ष रवीन्द्र लम्साल, काँग्रेस सभापति दुर्गा प्रसाईँ, माओवादी केन्द्रका कृष्ण घिमिरे, राप्रपाका ज्योति उप्रेती, विवेकशील साझाका राजकुमार फुयाँल, जनता समाजवादीका रत्नकुमार श्रेष्ठ, नेवि सङ्घ जिल्ला सभापति राजेन्द्र उप्रेती, कनकाई नगर सामुदायिक वन महासङ्घका दधिराम पोखरेल र कनकाई सामुदायिक वनकी मान्ता खरेलको हस्ताक्षर रहेको छ ।
भेलामा डिभिजन वन कार्यालयका प्रमुख युवराज मास्के, सब डिभिजन वन कार्यालय सुरुङ्गाका प्रमुख दिनेशकुमार यादव, नेपाल पत्रकार महासंघ प्रदेश सदस्य लीलाराज झापाली, समाजसेवी श्यामसुन्दर ओली, जनप्रतिनिधि रोशन सुवेदी, सुकेडागी सामुदायिक वनकी अध्यक्ष शान्ता घिमिरे, काँग्रेस उपसभापति सूर्य थापा लगायतको उपस्थिति रहेको थियो ।