बिर्तामोड नगरपालिकाको नगर विकास योजना पुस्तक सार्वजनिक
झापा । बिर्तामोड नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक समीक्षा तथा आर्थिक वर्ष २०७८/०७९को नगर विकास योजनाको पुस्तक सार्वजनिकिरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रमका बिच समीक्षा तथा पुस्तक सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ सांसद एकराज कार्की, बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार सिवाकोटी र प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन ।
गत असार १० गते आयोजित सातौँ नगर सभामा पेस भएका नीति तथा कार्यक्रमलाई पुस्तक मार्फत सार्वजनिक गरिएको हो ।कार्यक्रममा बिर्तामोड नगरपालिकाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा निशुल्क रुपमा पठनपाठन गराउँदै आएको आचरण सचेतना शिक्षा कक्षा ३ देखि ८ सम्मको पाठ्यक्रम तथा कक्षा ७ र ८ को पाठ्य पुस्तक समेत विमोचन गरिएको छ ।
सोही कार्यक्रमका बिच नगरपालिकाको विभिन्न वडामा जग्गा दिएर सहयोग गर्ने जग्गा दाता,अवकाश प्राप्त कर्मचारी, उत्कृष्ट कर्मचारी, समाजसेवी तथा खेलाडीलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गा दाता बिर्तामोड वडा नम्बर १ का दानबहादुर राउत, वडा नम्बर ४ का भिमकला रावत, वडा नम्बर ९ का तोमप्रसाद पाठक, वडा नम्बर १० का श्रीप्रसाद सिवाकोटी रहेका छन् ।
यस्तै नगरपालिकाबाट अवकाश प्राप्त कर्मचारी लेखा अधिकृत यादव प्रसाद अधिकारी, अधिकृत छैटौँ तुलसी प्रसाद भण्डारी, सहायक पाँचौँ धनकुमारी भण्डारी र प्रद्युम्न न्यौपानेलाई सम्मान तथा बिदाइ गरिएको छ । यस्तै समाजसेवी बिर्तामोड नगरपालिका ४ का भक्ति प्रसाद तिवारी विदुर र वडी विल्डर राम दाहाललाई सम्मान गरिएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को उत्कृष्ट कर्मचारीको रुपमा कोभिड–१९को संक्रमण उच्च रहेको बेलामा समेत अहोरात्र खट्ने एम्बुलेन्स चालक महेन्द्रकुमार घिमिरे र शव वाहन चालक खगेन्द्र प्रसाद मैनालीलाई सम्मान गरिएको छ । सम्मानित हुने सबै जनालाई प्रमुख अतिथि तथा प्रदेश १ सांसद एकराज कार्की,नगर प्रमुख ध्रुवकुमार सिवाकोटी र प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहालले दोसल्ला ओढाएर सम्मान पत्र तथा मायाको चिनोको रुपमा अंखोरा प्रदान गरेका थिए ।
कार्यक्रमको पहिलो सत्रमा नगरका १५ वटै शाखाको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक समीक्षा गरिएको थियो । शिक्षा शाखा प्रमुख तिलपन भण्डारी,कृषि शाखा प्रमुख राजेन्द्र कडरीया, पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहाल,स्वास्थ्य शाखा प्रमुख तुलसी पोखरेल,योजना शाखा प्रमुख जय तिम्सिना,आर्थिक प्रशासन शाखाका निमित्त प्रमुख प्रकाश न्यौपाने, राजश्व शाखाका प्रमुख पदमराज न्यौपाने, कानुन शाखा प्रमुख टिका लामिछाने, घर नक्सा शाखा प्रमुख प्रभाव थापा मगर, पञ्जिकरण इकाई शाखा प्रमुख अशेष अधिकारी, प्रधानमन्त्री रोजगार कार्यक्रम प्रमुख होमनाथ भट्टराई र उद्यम विकास कार्यक्रम प्रमुख चलीमाया तामाङले आ–आफ्नो शाखाको प्रगति विवरण पेस गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रदेश १ सांसद एकराज कार्कीले सार्वजनिक भएका योजनाहरूको कार्यान्वयनमा ध्यान दिन सबै जनप्रतिनिधि तथा कर्मचारीहरूलाई आग्रह गरे । कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटि अध्यक्ष उमानाथ ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीकी नगर अध्यक्ष रञ्जु प्याकुरेल, नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज युवराज दाहालले शुभकामना मन्तव्य राखेका थिए ।
नगरप्रमुख ध्रुवकुमार सिवाकोटीको अध्यक्षतामा आयोजित कार्यक्रमको औचित्यमाथि प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले प्रकाश पारेको कार्यक्रमको सञ्चालन योजना अधिकृत जय तिम्सिनाले गरेका थिए ।