२०८३ असार ३ गते , बुधबार
प्रदेश १ मा दुर्घटना : पाँच जनाको मृत्यु, दुई घाइते
झापा । प्रदेशका विभिन्न जिल्लामा भएको दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत झापाको शिवसताक्षी नगरपालिका १० स्थित माइधारमा सोमबार बिहान साढे ८ बजे प्रदेश ०३–००१–क–००९५ नम्बरको टिपरले को २ च २६३२ नम्बरको छोटा हात्ती ९पिकअप भ्यान०लाई ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट भ्यान चालक दमक नगरपालिका–९ निवासी अन्दाजी ४० वर्षीय नेत्र खड्काको मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
पिकअप भ्यान सडकमा रोक्न खोजी रहेको अवस्थामा टिपरले पछाडिबाट ठक्कर दिँदा सो भ्यान कनकाई सिँचाइ आयोजनाको नहरमा पल्टिएर पानीमा डुबेको थियो । पानीमा डुबेको गाडी निकाल्दा चालकको गाडीभित्रै मृत्यु भइसकेको थियो । टिपर र टिपर चालक जिल्ला मकवानपुर थाहा नगरपालिका– ८ निवासी २४ वर्षीय सहदेव कार्कीलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले नियन्त्रणमा लिएको छ ।
सोलुखुम्बुको लिखुपिके ५ स्थित लिखु जलविद्युत आयोजनाको सुरुङमा काम गरी रहेका मजदुरहरूको माथिबाट ढिस्को झरी एक जना मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा खोटाङका २८ वर्षीय रामकृष्ण राई रहेका छन् । ढिस्कोले पुरिँदा दोलखा जिरी २ का २१ वर्षीय जगत् श्रेष्ठ र ओखलढुङ्गा मोलुङ ८ का २८ वर्षीय प्रविन्द्र राई घाइते भएका छन् ।
सोमबार बिहान ३ बजे सुरुङमा काम गरिरहेको अवस्थामा ढिस्को झरी अन्दाजी ४०० मिटर तल खस्दा राईको घटनास्थलमै मृत्यु भएको थियो । घाइतेहरूलाई उपचारको लागी हेलिकप्टरबाट केएमसी हस्पिटल काठमाडौँ लगिएको छ । त्यस्तै ताप्लेजुङ सिरिजंघा गाउँपालिका ४ स्थित तेल्लोकमा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४५ वर्षीय इन्द्र भट्टराई रहेका छन् । आइतबार बेलुका ७ बजे पूर्वबाट पश्चिम आउँदै गरेको मे १ त ६३९९० नम्बरको ट्याक्टरले पैदल यात्री भट्टराईलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र ट्याक्टर चालक सन्जराज लिम्बु इलाका प्रहरी कार्यालय तेल्लोकको नियन्त्रणमा रहेको छ ।
उता उदयपुर बेलका नगरपालिका ३ स्थित त्रिवेणी चोकमा भित्री सडक खण्डमा स्कुटरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ७० वर्षीय हरिण्य बहादुर बस्नेत रहेका छन् । आइतबार बेलुका साढे ७ बजे उत्तरबाट दक्षिण तर्फ गइरहेको बा ६६ प ६०५३ नम्बरको स्कुटरले पैदल यात्री बस्नेतलाई ठक्कर दिएको थियो । घाइते भएका बस्नेतको घोपा धरानमा उपचारको क्रममा राती साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटर र चालक सोही स्थानका २६ वर्षीय एकराज विकलाई इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएको छ ।
त्यस्तै सुनसरी दुहबी नगरपालिका ९ का ५५ वर्षीय रुदन ऋषिदेवको करेन्ट लागेर मृत्यु भएको छ । आइतबार साढे ३ बजे आफ्नै घरको कलमा मोटर जोड्ने क्रममा ऋषिदेवको करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।