२०८३ असार ३ गते , बुधबार
काँग्रेस अधिवेशन : भद्रपुरमा कसैले पनि लिएनन् उम्मेदवारी फिर्ता, पाँच जना उत्रिए चुनावी मैदानमा
भद्रपुर । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गृह नगर भद्रपुरमा सभापति पदका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । आज (आइतबार) बिहान ८ बजेसम्म कसैले पनि उम्मेदवारी फिर्ता नलिएपछि निर्वाचन हुने भएको छ ।
नगर सभापति एक पदका लागि बन्धु कार्की, मदनबहादुर बस्नेत, ज्ञानबहादुर चौहान, भरत प्रसाईँ र रामबहादुर कँडेलबिच भिडन्त हुने भएको छ । सचिव दुई पदका लागि ६ जनाको उम्मेदवारी परेको थियो ।
आज बिहानसम्म कविन राईले उम्मेदवारी फिर्ता लिएको मतदान अधिकृत मञ्जु दाहालले जानकारी दिइन् । अब दुई पदका लागि पाँच जना चुनावी मैदानमा उत्रिएका छन् । सचिव पदमा दुर्योधन कार्की, अनिता रिजाल, टेकबहादुर पाण्डे, उत्तम कोइराला र सन्तकुमार राजवंशी(सन्तोष)बिच भिडन्त हुन लागेको छ । त्यसैगरी सहसचिव दुई पदका लागि चार जनाको उम्मेदवारी परेको छ ।
सहसचिव पदमा मणिकुमार राई, सन्तोष थापा, नन्दलाल राजवंशी र दीपेशकुमार साहाले उम्मेदवारी दिएका छन् । भद्रपुरस्थित एनसीडिसी भवनमा काँग्रेस नेतृत्व चयनका लागि चुनावी माहौल तातिएको छ । निर्वाचन विहान १० देखि दिउँसो २ बजेसम्म हुने छ । सबै उम्मेदवारहरू भोट माग्न र आफ्नो पक्षका कार्यकर्ता ललाउन, फकाउनु लागि परेका छन् । यता नेता र कार्यकर्ताहरू भन्छन्- 'नेता सिटौलाले जसलाई काखी च्यपाएका छन्, उसैले चुनाव जित्छन् ।,'