हडिया खोला ठेक्का लगाउने विषयमा कांग्रेसको असहमति
झापा । नेपाली काँग्रेस मेचीनगर १४ नम्बर वडा समितिले वडाअन्तर्गत पर्ने हडिया खोलामा नदीजन्य पदार्थ ठेक्का लगाउने विषयमा आफ्नो पार्टीको असहमति रहेको जनाएको छ ।
जथाभावी ढुङ्गा बालुवा उत्खनन् गरेका कारण करोडौँ रुपैयाँको लागतमा बनेको हडिया रेगुलेटरको बाँध ध्वस्त हुँदा सयौँ बिगाहा जग्गा सिँचाइ हुनबाट बञ्चित भएको, नदी कटान, खानेपानीको स्रोत सुक्ने, उर्वरायोग्य जग्गा सुख्खा लाग्नेजस्ता समस्या उत्पन्न भएको भन्दै खोला ठेक्का सम्बन्धमा सरोकारवालासहितको सर्वपक्षीय भेला गराई निष्कर्षमा पुग्नु पर्ने माग गर्दै काँग्रेस वडा समितिले १४ नं। वडा कार्यालयमा ज्ञापन पत्र बुझाएको काँग्रेस वडा सचिव लक्ष्मी घिमिरेले बताएका छन् ।
नेपाली काँग्रेस मेचीनगर १४ नम्बर वडाका सभापति प्रेमबहादुर नेउपानेले वडा कार्यालयमा वडाध्यक्ष शंकरप्रसाद पोखरेललाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्रमा सक्रिय युवाहरुको अगुवाइमा ३ सयभन्दा बढी स्थानीयबासीले समेत असन्तुष्टि जनाउँदै वडामा धनाकर्षण पत्र बुझाएको वर्तमान अवस्थामा ठेक्का लगाउँदा विगतमा देखिएका विकृतिहरुलाईसमेत मनन् गर्दै नदीजन्य सामग्री उत्खनन् गर्दा बेल्चाको प्रयोग गरिनु पर्ने, जेसिबी र स्काभेटर जस्ता साधनको प्रयोग गर्न नहुने, वडाको विकास निर्माणका लागि आवश्यक पर्ने नदीजन्य सामग्री उत्खनन् गर्दा निश्चित स्थानबाट उच्चस्तरीय अनुगमन समितिको निगरानीमा उत्खनन् गरिनु पर्ने माग गरिएको छ ।
आम वडाबासीको भावना विपरीत जबरजस्ती ठेक्का प्रक्रिया अघि बढाइएमा उत्पन्न हुने परिस्थितिप्रति वडा कार्यालय जवाफदेही हुनु पर्ने ध्यानाकर्षणसमेत ज्ञापन पत्रमा गराइएको छ ।