हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु
झापा । सुनसरीमा हात्तीको आक्रमणबाट सोमबार एक वृद्धा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका–११ स्थित मधुवन निवासी ६५ वर्षीया ममनीदेवी खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घरनजिकै रहेको पोखरीको डिलमा गाईवस्तुका लागि घाँस काट्न गएका बेलामा हात्तीले आक्रमण गर्दा खत्वे गम्भीर घाइते भएको स्थानीयवासी राजकुमार साहले जानकारी दिए । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइते खत्वेको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको स्थानीयवासी साहले बताए ।
खत्वेको हात्तीको आक्रमणबाट मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले आन्दोलन सुरु गरेका छन् । पटक–पटक जङ्गली जनावरको आतङ्कका कारणले आफूहरूलाई समस्या भएको भन्दै स्थानीयवासीले यसलाई नियन्त्रण गर्नुपर्ने माग गर्दै बराहक्षेत्रमा विरोध प्रदर्शन सुरु गरेका छन् ।