महिला हिंसामुक्त पालिकासहित ११ बुँदे माग राख्दै भद्रपुर नगरपालिकालाई ज्ञापनपत्र
भद्रपुर । भद्रपुर नगरलाई महिला हिंसा मुक्त पालिका घोषणा र आमाको नामबाट नागरिकता प्राप्त गर्न सहज वातावरण बनाइदिनु पर्ने माग राख्दै भद्रपुर नगरपालिका कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।
माओवादी केन्द्र निकट अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) नगर समिति भद्रपुरले नगरलाई महिला हिंसा मुक्त पालिका घोषणासहित ११ बुँदे मागसहित पत्र नगरपालिकालाई बुझाएको हो । महिला सङ्घकी अध्यक्ष शर्मिला खातीको नेतृत्वमा गएको टोलीले नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठलाई सो मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।
बुझाएको ज्ञापनपत्रमा स्वास्थ्य संस्था र विद्यालयको हाता वरिपरि निश्चित दुरीसम्म धूम्रमान मद्यपान, जुवा तास निषेधित क्षेत्र घोषणा गरियोस्, माध्यमिक तहसम्म किशोरी मैत्री वातावरण बनाउन किशोरीहरूलाई आराम कक्ष, शौचालयको व्यवस्था, स्नेटरी प्याडको सहज व्यवस्था गरियोस्, नगरभित्रका विद्यालयहरूमा एक जना स्टाफ नर्सको व्यवस्था गरियोस्, छोरा सरह छोरीलाई पैतृक सम्पत्तिमा समान अधिकारको व्यवस्था लागु गरियोस्, लैगिंक उत्तरदायी बजेटमा १० प्रतिशत व्यवस्था गरी जनचेतना, तालिम, सिप सिकाइमा प्रयोग गरियोस्, नगर भित्र अल्पकालीन सुरक्षित गृह (सेल्फ हाउस)को व्यवस्था मिलाइयोस्, सबै गर्भवती महिलाहरूलाई अस्पतालमा सुत्केरी हुने व्यवस्था मिलाइयोस्, हिंसा पीडित महिलाहरूका लागि न्यायिक समितिमार्फत तत्काल न्याय दिने व्यवस्था मिलाइयोस् र छोरीका लागि जन्मेपछि बैङ्किङ खाताको व्यवस्था र मावि स्तरसम्म निःशुल्क शिक्षाको व्यवस्था गरियोस् गरी ११ बुँदे माग राखिएको छ ।