भद्रपुर सीमा नाकामा राष्ट्रिय झन्डा फहराइयो (फोटो फिचरसहित)
झापा । नेपाल-भारत सीमा नाका भद्रपुरमा तीन मिटर लामो राष्ट्रिय झन्डा फहराइएको छ । भद्रपुर नगरपालिका ५ नम्बर वडा कार्यालयले राष्ट्रिय झन्डा उपलब्ध गराएपछि मेची पुल पारी सो झन्डा फहराइएको हो ।
५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले शुक्रबार एक संक्षिप्त कार्यक्रमकाबिच वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर दलकुमार राईलाई राष्ट्रिय झन्डा हस्तान्तरण गरेसँगै मेची पुल पारी प्रहरी विटमाथि तीन मिटर लामो झन्डा लगाइएको छ । झन्डा फहराउने कार्यक्रममा वडाका जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीको पनि उपस्थिति रहेको थियो ।
यसअघि भद्रपुर नाकामा लगाइएको राष्ट्रिय झन्डा च्यातिएपछि त्यसलाई हटाइएको थियो । लामो समयदेखि सीमा नाकामा राष्ट्रिय झन्डा नहुँदा देशको भूभाग छुट्टाउने पहिचान नै मेटिएको थियो । भद्रपुर नगरपालिकाको आर्थिक सहयोग मेची पुल पारी प्रहरी विटको निर्माण गरिएको छ ।