२०८३ असार २ गते , मंगलबार

भद्रपुर नगरपालिका प्रदेश सरकारबाट सम्मानित

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २९ गते , मंगलबार
भद्रपुर नगरपालिका प्रदेश सरकारबाट सम्मानित

भद्रपुर । झापाको भद्रपुर नगरपालिका प्रदेश नं १ सरकारबाट सम्मानित भएको छ । प्रदेशकै पहिलो बालमैत्री नगरपालिका बनेर बालबालिकाको सर्वाङ्गीण विकासका लागि महत्त्वपूर्ण र उपलब्धिमूलक कार्य गर्दै आएको भन्दै ५७ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर १ नं प्रदेश सरकारले भद्रपुर नगरपालिकालाई सम्मान गरेको हो ।

आज मङ्गलवार विराटनगरस्थित सामाजिक विकास मन्त्रालयको सभा हलमा आयोजित समारोहका बिच सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले सम्मान पत्र हस्तान्तरण गरे । भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, नगर बाल सञ्जालकी अध्यक्ष आराध्या प्याकुरेल, नगरपालिकाका बालमैत्री फोकल पर्सन टिकाराम पाण्डे, बालमैत्री अभियानकर्मी फणीन्द्र दाहालले संयुक्त रुपमा सम्मान पत्र ग्रहण गरेका थिए ।

समारोहमा सामाजिक विकास मन्त्री साम्सोहाङले बालबालिकाको क्षेत्रमा भद्रपुर नगरपालिकाले गरेका क्रियाकलाप र लगानीको प्रशंसा गर्दै अन्य स्थानीय तहले पनि अनुसरण गर्नुपर्ने बताए । भद्रपुर नगरप्रमुख श्रेष्ठले अभियानका क्रममा गरिएका क्रियाकलाप र अनुभवहरू बरे चर्चा गर्दै थुप्रै चुनौतीका बिच अभियान सफल भएको बताए ।

यसैबिच, बाल दिवसको अवसर पारेर भद्रपुर नगर बाल सञ्जालले मङ्गलवार नै मेची अस्पतालका बिरामी बालबालिकालाई फलफूल वितरण गर्नुका साथै भद्रपुर ४ स्थित नागरिक अपाङ्ग ग्राममा संरक्षणविहीन बालिका दीपशिखा पुरीलाई पुनर्स्थापना गरिएको फोकल पर्सन टिकाराम पाण्डेले बताए । 


सम्बन्धित समाचार