देशभर राष्ट्रिय बाल दिवस मनाउने तयारी
काठमाडौं । ‘सामान्य अवस्था वा कोभिड महामारी : बालअधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ यही भदौ २९ गते ५७ औं राष्ट्रिय बाल दिवस मनाउने तयारी गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बालअधिकार परिषद्ले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी दिवसका अवसरमा बालअधिकार संरक्षण र संवर्द्धन भएका विषयगत प्रयास तथा उपलब्धिबारे जानकारी गराएको छ।
दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देश जारी हुनेछ भने प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअलरुपमा मूल समारोह समितिको कार्यक्रम शुभारम्भ गर्ने छन्। कार्यक्रममा ‘सङ्घीय नेपालमा बाल अधिकार’ विषयक दुई मिनेटको भिडियो निर्माण प्रतियोगितामा उत्कृष्ट तीन भिडियो सार्वजनिक गरी पुरस्कृत गरिनेछ।
सडक बालबालिका मुक्त राष्ट्र नेपाल बनाउने अभियानअन्तर्गत सडकदेखि रङ्गशालासम्म कार्यक्रम, अन्तर्राष्ट्रिय खेलाडी उत्पादनका लागि रग्वी प्रशिक्षणको पनि दिवसकै दिन शुभारम्भ गरिनेछ।
यस्तै भदौ ३० गते सातै प्रदेशमा बालबालिकाको सहभागितामा डिजिटल ह्याङआउट कार्यक्रम र कोभिडले पारेको प्रभाव र समाधानका उपायबारे सिर्जनात्मक अभिव्यक्ति प्रस्तुति गराइनेछ। मन्त्रालयका सचिव यामकुमारी खतिवडाले दिवसका अवसरमा बाल अधिकारका क्षेत्रमा नीतिगत समीक्षा र भावी कार्यदिशा तय गर्ने विषयमा पनि छलफल हुने बताइन्।
उनले बाल अधिकारबारे सञ्चारमाध्यमले उचित स्थान दिन नसकेको गुनासो गरिन। परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले नयाँ कानूनी व्यवस्था बमोजिम सबै स्थानीय तहमा बालअधिकार संरक्षणका लागि संरचना स्थापना हुन थालेको जानकारी दिए। रासस