अर्जुनधारामा ग्यास सिलिन्डर चुहावट भई आगलागी, एकै परिवारका तीनजना घाइते
झापा । झापाको अर्जुनधारामा ग्यास सिलिन्डर चुहावट भई घरमा आगलागी भएको छ । आगलागीमा परी एकै परिवारका तीन जना घाइते भएका छन् । अर्जुनधारा नगरपालिका- ७ स्थित पुष्पलाल मार्ग निवासी रोमनाथ खनालको इँटाको वालमाथि जस्ताको छाना भएको एक तले घरमा शनिवार साँझ साढे ६ बजे आगलागी भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।
नयाँ ग्यास सिलिन्डर फेर्ने क्रममा ग्यास चुहावट भई आगलागी हुँदा घरधनी ४२ वर्षीय खनाल, उनका ३८ वर्षीया श्रीमती दुर्गा र १८ वर्षीय छोरा पङ्कज खनाल घाइते भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । घरधनी खनालको शरीर जल्दा उनको अवस्था गम्भीर रहेको छ । श्रीमती र छोराको पनि शरीर जलेको छ, तर उनीहरूको अवस्था जटिल रहेको प्रहरीले जनाएको छ ।
घाइते तीनै जनालाई उपचारका लागि नोबेल अस्पताल विराटनगर पठाइएको छ । यता घरमा लागेको आगो बिर्तामोड नगरपालिकाको दमकल, इलाका प्रहरी कार्यालय बिर्तामोड, प्रहरी चौकी शनिश्चरे र स्थानीयवासीको सहयोगमा बेलुका साढे ७ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाइएको छ ।