थुनुवा मृत्यु प्रकरण : मृतकका आफन्तको प्रदर्शनले विराटनगर तनावग्रस्त
विराटनगर । प्रहरी हिरासतमा रहेका भीम कामतको मृत्यु भएपछि मृतकका आफन्त र स्थानीयले गरेको प्रदर्शनका कारण विराटनगर तनावग्रस्त बनेको छ। मंगलबार मृतकका आफन्त र स्थानीयले प्रदर्शन गरेपछि विराटनगर महेन्द्र चोकदेखि घाँस चोक आसपासको अवस्था तनावग्रस्त बनेको हो। ठूलो संख्यामा सडकमा उपस्थित भएका मृतकका आफन्त र स्थानीयले प्रहरीविरुद्ध नाराबाजी गर्दै टायर बालेर सडक अवरुद्ध गरेका थिए।
शुक्रबार गाँजासहित पक्राउ परेका विराटनगर महानगरपालिका–११ का ३७ वर्षीय कामतको आइतबार दिउँसो उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भएको थियो। कामतको मृत्यु प्रहरीको यातनाका कारण भएको भन्दै आफन्तले सोमबार पनि विराटनगरमा प्रदर्शन गरेका थिए।
आफन्तले प्रदर्शन गरेपछि जिल्ला प्रशासन कार्यालयले छानबिन समिति गठन गरेको छ। तर पनि आफन्तले प्रदर्शन जारी राखेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठका अनुसार आइतबार बिहान अचानक बिरामी परेका कामतलाई उपचारका लागि कोसी अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा मृत्यु भएको श्रेष्ठको भनाइ छ । थाहाखबरबाट