२०८३ असार २ गते , मंगलबार
झापाको लसुना नाका खोल्नु पर्ने माग गर्दै स्थानीयको प्रदर्शन
झापा । झापा गाउँपालिकाको लसुना बोर्डरमा नेपाल-भारतको सीमा नाका खोल्न माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् ।
व्यापारी, यातायात व्यवसायी,कृषक, युवालगायतले लसुना बोर्डरमा रहेको छोटी भन्सार कार्यालय अगाडी नारासहित शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
कोभिडका कारण विगत १७ महिनादेखि बन्द रहेको लसुना दिघलबैंक सीमा नाका खोल्न माग गर्दै उनीहरूले झापा गाउँपालिकाको स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । स्थानीय सरकारमार्फत जिल्ला प्रशासन कार्यालयमा समेत ज्ञापन पत्र पठाएका छन् ।
स्थानीय कुमार गणेशले मुख्य नाकाबाट नेपाल-भारत आवतजावत गर्न दिँदा कोरोना नसर्ने तर बोर्डरकै विभिन्न साइडबाट आवतजावत गर्न दिँदा कोरोना चाहिँ सर्ने कस्तो नियम भएको प्रश्न गरे । बोर्डरको विभिन्न साइटबाट मानिसहरूले धानवारी खोल्साखोल्सी हुँदै ज्यानको जोखिम मोलेर वारिपारि गर्नुपर्ने बाध्यता भएको उनको भनाइ छ । त्यसैगरी युवा परिवारका अध्यक्ष अभिराम यादवले मानिसहरू अब कोरोनाले होइन खाना नपाएर मर्न लागेको बताए । नेपाल भारतबिच रोटी र बेटीको सम्बन्ध भएकोले यथाशीघ्र नेपालतर्फको सम्पूर्ण नाकाहरू स्वास्थ्य मापदण्ड अपनाएर खोल्न उनले माग गरे ।