२०८३ असार २ गते , मंगलबार

महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक तोडफोडमा संलग्नलाई कारबाही गर्न स्थानीयको माग

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १९ गते , शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक तोडफोडमा संलग्नलाई कारबाही गर्न स्थानीयको माग

झापा । भद्रपुरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक तोडफोडमा संलग्न दोषीलाई कडा कारबाही गर्न स्थानीयले माग गरेका छन् ।  भद्रपुर-९ स्थित देवकोटा स्मारक संरक्षण समितिले शनिवार मुना सामुदायिक भवनमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सो क्षेत्रमा क्रियाशील राजनितिकदल, सामाजिक सङ्घ/संस्थाका अगुवाहरूले यस्तो माग गरेका हुन ।  

कार्यक्रममा समाजसेवी दुर्गाप्रसाद भट्टराई, चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हिराप्रसाद पोखरेल, ९ नम्बर वडाका कार्यवाहक अध्यक्ष राम दाहाल, एमालेका महेश न्यौपाने, नेपाली काङ्ग्रेसका गोपाल श्रेष्ठ,  माओवादी केन्द्रका दिनानाथ उप्रेती, राप्रपाका बाबुराम पराजुली, चेतना नेपालका इन्द्रप्रसाद ओली, साहित्यकार कृष्ण सुवेदी निराकार, तारा रुचाल, चूडामणि मैनाली, राजेन्द्र रिजाल लगायतले  आ–आफ्ना धारणा राख्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक तोडफोड गर्नलाई कारबाही लागि माग गरेका छन् ।  सोही भेलाले महाकवि देवकोटाको सालिक स्थानान्तरण र सालिक तोडफोडको अनुसन्धानमा सहयोग पुर्‍याउने उद्देश्यले राजनीतिक दल, सामाजिक सङ्घ संस्था र जनप्रतिनिधि सम्मिलित ११ सदस्यीय सहयोग समिति समेत गठन गरेको छ । 

देवकोटा स्मारक संरक्षण समितिका अध्यक्ष सन्तोष पोखरेल संयोजक र सचिव राजु बराल सदस्य सचिव रहेको सो सहयोग समितिमा दुर्गाप्रसाद भट्टराई, हिराप्रसाद पोखरेल, राम दाहाल, गोपाल श्रेष्ठ, महेश न्यौपाने, बाबुराम पराजुली, दिनानाथ उप्रेती, चूडामणि मैनाली, राजेन्द्र रिजाल सदस्य रहेका छन् । 

देवकोटा  स्मारक संरक्षण समितिका अध्यक्ष सन्तोष पोखरेलको अध्यक्षता र सचिव राजु बरालको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष खडग प्रसाद दाहालले गरेका थिए । गत आइतबार राति अज्ञात समूहले  महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको सालिक तोडफोड गरेका थिए ।   भद्रपुर नगरपालिका–९ स्थित प्रकाशपुरमा २०५१ सालमा स्थानीय साहित्यप्रेमीहरूले सालिक स्थापना गरेका थिए । पूर्वपश्चिम राजमार्गको चारआलीबाट झापा सदरमुकाम चन्द्रगढी जोड्ने मेची सहायक राजमार्गको बिचमा सालिक रहेको थियो ।

सम्बन्धित समाचार