दुई ग्रेड बराबरको रकम थप्न सरकारसँग निवृत्त कर्मचारीको माग
(रेवतीराज घिमिरे) भद्रपुर । कर्मचारी समायोजनको बेला प्रदान गरिएको ग्रेड रकम अवकाश प्राप्त कर्मचारीहरूलाई सजिलै उपलब्ध गराउन माग गर्दै जिल्ला प्रशासन कार्यालय झापामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।
निवृत्त राष्ट्रसेवक समाज नेपाल भद्रपुर नगर कार्य समितिले ८० औ पेन्सन दिवसको अवसर पारेर झापाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पठाएका हुन् । समाज भद्रपुरका अध्यक्ष मुक्तिनाथ दाहालको नेतृत्वमा बिहीबार गएको टोलीले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई सो ज्ञापनपत्र बुझाइएका थिए । कर्मचारी समायोजन ऐन २०७५ बमोजिम प्रदेश तथा स्थानीय तहका दुई ग्रेड थप भएका सेवा निवृत्त कर्मचारीहरूलाई राष्ट्रिय किताब खानाले आदेश नभएको भन्दै प्राप्त हुने ग्रेड दिन नमानेकोले तत्काल उक्त ग्रेड रकम प्राप्त गर्ने वातावरण बनाइ दिन ज्ञापनपत्रमार्फत माग गरिएको छ ।
कर्मचारीले खाइपाइ आएको दुई ग्रेड बराबरको रकम समावेश गरी पेन्सन उपलब्ध गराउन किताब खानालाई अनुरोध गर्दै उक्त ग्रेड प्राप्त गर्ने सहज वातावरण बनाउन नेपाल सरकारसँग जोडदार माग गरिएको समेत पत्रमा उल्लेख छ । यसैबिच दिवसको अवसरमा समाजले सदरमुकाम भद्रपुरको चन्द्रगढी क्षेत्रका सर्वसाधारणलाई चार सय भन्दा बढी मास्क वितरण गरिएको अध्यक्ष दाहालले जानकारी दिए ।