सहिद सुरजकी आमालाई भद्रपुर नगरपालिकाको मासिक १० हजार सहयोग
झापा । भद्रपुर नगरपालिकाले दोस्रो जनआन्दोलनका सहिद परिवारलाई मासिक १० हजार रुपैयाँ सहयोग दिने निर्णय गरेको छ।नगर कार्यपालिका बैठकले दोस्रो जनआन्दोलनका सहिदका परिवारलाई मासिक १० हजार रुपैयाँ दिने निर्णय गरेको हो। दोस्रो जनआन्दोलन ताका २०६३ वैशाख ६ गते सरकारी फौजको गोली लागेर उनी भद्रपुर- ६ का सुरजको निधन भएको थियो। उनी पेसाले चालक थिए। सुरजकी आमा मीनाको जीविकोपार्जन तथा औषधि उपचार खर्च बापत उक्त रकम दिने निर्णय गरिएको नगरप्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए।
नगरपालिकाले वार्षिक रुपमा मीनालाई स्वास्थ्य बिमाको नवीकरण पनि गर्दै आएको छ। सुरजका बुवा शान्तिको चार वर्षअघि निधन भएपछि आमाको जीविकोपार्जन तथा औषधि उपचारमा गर्न आर्थिक समस्या भइरहेको थियो। राज्यले वार्षिक रुपमा सात हजार रुपैयाँ उपलब्ध गराउँदै आए पनि त्यो रकम अपुग भएकाले नगरपालिकाले थप रकम सहयोग गरेको जनाइएको छ।
त्यस्तै‚ नगर कार्यपालिकाको बैठकले मजदुरसँग नगर प्रमुख कार्यक्रम सञ्चालन गर्न विनियोजित बजेटले स्वास्थ्य बिमाको सट्टा नगर क्षेत्रका निर्माण, चिया, कारखाना र कृषि श्रमिकहरूको सेवा सुरक्षा व्यवस्थापन गर्नुपर्ने भएकाले सामाजिक शाखाबाट कार्यविधि कानुन निर्माण गरी कार्यक्रम सञ्चालन गर्ने पनि निर्णय गरेको छ।
नगर क्षेत्रमा बसोबास रहेका आदिवासी राजवंशी र लोपोन्मुख सन्थाल जातिको स्तम्भ लागत अनुमान तयार गरी नगरपालिकाको नयाँ भवन परिसरमा निर्माण गर्ने भएको छ। यसरि नैं हिंसा पीडित तथा मानव बेचबिखन पीडित महिला बालबालिका र किशोर किशोरीहरूका लागि अल्पकालीन सेवा केन्द्र सेफ हाउस सञ्चालनका लागि मानव अधिकारका लागि एकल महिलालाई नै निरन्तर रुपमा सञ्चालन गर्न दिने निर्णय गरेको छ।