२०८३ असार २ गते , मंगलबार
झापाका ट्राभल्स व्यवसायी गोपाल खनालको निधन
झापा । कोरोना भाइरसको सङ्क्रमणबाट झापाका ट्राभल्स तथा पर्यटन व्यवसायी गोपाल खनालको निधन भएको छ । जिल्ला ट्राभल्स सङ्घ, झापाका उपाध्यक्ष तथा भद्रपुर नगरका अध्यक्ष समेत रहेका भद्रपुर नगरपालिका-८ निवासी ५६ वर्षीय खनालको उपचारको क्रममा सोमबार बिहान बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा निधन भएको हो । उनी अनिमेष ट्राभल्स एन्ड टुर्सका सञ्चालक हुन ।
खनाल ट्राभल्स सङ्घसहित धार्मिक संस्था मङ्गल सेवा समिति भद्रपुर, झापा उद्योग वाणिज्य सङ्घका सदस्य, मेची क्याम्पस बौद्धिक बाटिका निर्माण समितिका उपाध्यक्ष ,झापा नेत्रहीन संघलगायत विभिन्न सङ्घसंस्थामा आबद्ध भई सामाजिक कार्य समेत गर्दै आइरहेका थिए । खनाललाई साउन २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएपछि स्वास्थ्यमा थप समस्या आएपछि उनले पुनः भदौ ९ गते कोरोना परीक्षण गराउँदा फेरि पनि संक्रमण पुष्टि भएको थियो । त्यसपछि उपचारका लागि बिएण्डसी अस्पतालमा भर्ना गराइएको थियो । उनलाई विगत केही दिनदेखि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइरहेको अस्पतालले जनाएको छ । उनको शवलाई नेपाली सेनाको शव व्यवस्थापन टोलीले प्रक्रिया पुरा गरी भद्रपुर ल्याउने तयारी भइरहेको जनाइएको छ ।