२०८३ असार २ गते , मंगलबार

बुद्धशान्तिमा काठ तस्करको बिगबिगी, प्रहरीद्वारा ६७.८ क्यूफिट काठ र औजार बरामद

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १३ गते , आईतबार
बुद्धशान्तिमा काठ तस्करको बिगबिगी, प्रहरीद्वारा ६७.८ क्यूफिट काठ र औजार बरामद

झापा । झापाको बुद्धशान्तिमा काठ तस्कर समूहको बिगबिगी पछिल्लो समयमा बढेको छ । बुद्धशान्तिमा गाउँपालिका-७ स्थित सानो सुनमाई स्थित नमुना सामुदायिक वनमा तस्कर समूहले काठ कटान गरिरहेको सूचना पाएपछि आइतबार बिहान साढे ११ बजे इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएका प्रहरीले टोली घटनास्थल पुगेका थिए ।


प्रहरी टोली देख्न साथ तस्कर समूह काठ, काठ काट्ने औजार आरा, गिडुवा, खुर्पा छाडी फरार भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । त्यसपछि प्रहरी टोलीले सो स्थानमा खोज तलास गर्दा दुर्गा दर्नालको घर पछाडि गोबरले छोपी राखेको विभिन्न साइजका चिरान तथा गोलिया कटान गरी राखेको साल जातको काठ बरामद गरेको थियो ।

सखुवा जातको गोलिया ८ थान २८.५६ क्यूफिट र सखुवा जातको चिरान फेन्टा ३७ थान ३९.२४ क्यूफिट गरी जम्मा ६७.८ क्यूफिट काठ बरामद गरिएको डिएसपी थापाले बताए । बरामद गरिएको काठ र औजार आवश्यक कारबाहीका लागि नजिकै रहेको रोङ सब डिभिजन वन कार्यालय इलामसँग समन्वय गरी बुझाएको छ । प्रहरीले यसअघि पनि पटक पटक बुद्धशान्ति क्षेत्रबाट सखुवा जातका काठ बरामद गरे पनि तस्करी समूहले झापा र इलाममा वन विनाश गरिरहेका छन् । 



सम्बन्धित समाचार