२०८३ असार २ गते , मंगलबार

क्लिन झापाको नवौँ साधारणसभा सम्पन्न

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १३ गते , आईतबार
क्लिन झापाको नवौँ साधारणसभा सम्पन्न
झापा । वातावरण संरक्षण एवम् सरसफाइ प्रवर्द्धनमा लामो समयदेखि काम गर्दै आइरहेको गैरसरकारी सामाजिक संस्था क्लिन झापाले नवौँ साधारणसभा सम्पन्न गरेको छ ।

भद्रपुर-७ लेखनाथचोकस्थित आफ्नै कार्यालय परिसरमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्दै सीमित उपस्थितिमा झापाले साधारणसभा सम्पन्न गरेको हो । संस्थाकी अध्यक्ष शान्ति उपाध्यायको अध्यक्षतामा आयोजित साधारणसभाको सञ्चालन संस्थाका सचिव एवम् झापाका सरसफाइ योद्धा रुद्रबहादुर न्यौपानेले गरेका थिए भने उपाध्यक्ष सन्तोष न्यौपानेले स्वागत गरेका थिए ।

साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष उपाध्यायले क्लिन झापाले आर्थिक वर्ष ०७७/०७८ मा संस्थाले गरेका क्रियाकलापका बारे जानकारी दिनुभएको थियो भने कोषाध्यक्ष विजय भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

कोरोना भाइरस महामारी सुरु भएको बेलादेखि जिल्लाका विभिन्न स्थानमा कोरोना भाइरसबाट जोगिने उपायहरूका बारे सचेतना एवम् जागरण फैलाउँदै आएको क्लिन झापाले अघिल्लो वर्ष जिल्लाको भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकामा ती पालिकाहरूको समन्वयमा फोहोरजन्य पानीबाट समुदायमा उत्पन्न हुने जटिल परिस्थिति, फोहोर व्यवस्थापन र सरसफाइसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको र ती कार्यक्रमबाट समुदायमा शुद्ध पानीको उपभोग एवम् सरसफाइ बारे चेतना अभिवृद्धि भएको अध्यक्ष उपाध्यायले बताए । 

साधारणसभामा बाबुराम पराजुली, ऋषि चापागाईँ, बाबुराम कार्की, विशाल अधिकारीलगायतले वातावरण संरक्षण तथा सरसफाइ प्रवर्द्धनमा क्लिन झापाले आगामी दिनमा गर्न सक्ने थप कामहरूका बारे सुझाव राखेका थिए । 

सम्बन्धित समाचार