२०८३ असार २ गते , मंगलबार

अज्ञात समूहले फेरि पारुखुपी बजारमा परेवाको स्तम्भ भत्काए

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र ११ गते , शुक्रबार
अज्ञात समूहले फेरि पारुखुपी बजारमा परेवाको स्तम्भ भत्काए
झापा । झापाको पुरानो बजार पारुखुपीको इतिहासलाई प्रतिनिधित्व हुने गरी निर्माण गरिएको परेवाको स्तम्भ फेरि भत्काइएको छ । निर्माण सम्पन्न भइसकेर केही दिनपछि गत साउनको पहिलो साता सो स्तम्भको उत्तरपट्टि तल्लो भाग अज्ञात व्यक्तिले भत्काइदिएका थिए । त्यसलाई मर्मत गरिएकोमा केही दिनअघि फेरि दक्षिणपट्टि भत्काइएको छ । पछिल्लो पटक ट्याक्ट्ररले भत्काइदिएको हल्दिबारीका कार्यपालिका सदस्य खगेन राजवंशीले बताए । अप्ठ्यारो ठाउँमा स्तम्भ निर्माण गरिएकाले आवतजावत गर्ने सवारीको ठक्करबाट स्तम्भ भत्किएको उनले बताए ।

राजवंशी भाषामा पारूँ अर्थात् परेवा र खुपी अर्थात् खोर भन्ने बुझिन्छ । परेवाको खोर रहेकै कारण पारुखुपी नामकरण भएको यस ठाउँको इतिहासलाई जोगाउन परेवा अङ्कित स्तम्भ निर्माण गरिएको हो । यस ठाउँमा रहेको दुर्गा मन्दिरको डाँडामा पहिले परेवाहरू गुड लगाएर बस्थे । त्यसकारण तत्कालीन जमिन्दारहरु मुत्तु गणेश, खला कुटु राजवंशीसहितका व्यक्तिहरूले यस ठाउँको नाम पारुखुपी राखेको भनाइ सुन्न सकिन्छ । हल्दिबारी गाउँपालिका-२ को पारुखुपी बजार चोकमा पारुखुपीको इतिहासलाई लोप हुन नदिन परेवा अङ्कित स्तम्भको गत जेठ १२ गते संविधानसभा सदस्य तथा प्रदेश सांसद पूर्णप्रसाद राजवंशी र संविधानसभा सदस्य मोहन टुडुले संयुक्त रुपमा शिलान्यास गरेका थिए । हल्दिवारी २ नं वडा कार्यालयको आर्थिक वर्ष ०७७–०७८ को विनियोजित ४ लाख बजेटबाट सो स्तम्भ निर्माण गरिएको कार्यपालिका सदस्य राजवंशीले जानकारी दिए ।

सम्बन्धित समाचार