२०८३ असार २ गते , मंगलबार

झापाका पुल र कल्भर्ट निर्माण नगर्ने दुई निर्माण कम्पनीलाई कारबाही

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र ९ गते , बुधबार
झापाका पुल र कल्भर्ट निर्माण नगर्ने दुई निर्माण कम्पनीलाई कारबाही
झापा। म्याद सकिएर १२ वर्षसम्म झापाको गेउरिया खोलाको पुल र दामुना खोलाको कल्भर्ट सम्पन्न नगर्ने दुई निर्माण कम्पनीलाई कारबाही गर्न महालेखा परीक्षकको कार्यालयले सिफारिस गरेको छ । 

महालेखा परीक्षकको कार्यालयले गेउरिया पुलको ठेक्का लिने साप शिवाको राजधानी जेभी काठमाडौँ र दामुना कल्भर्ट ठेक्का लिने देउती कन्स्ट्रक्सन काठमाडौँलाई कारबाही गर्न सिफारिस गरेको हो । साप शिवाको राजधानी जेभी काठमाडौँले गेउरिया खोलामा आर।सी।सी। पुल २०६८ वैशाख २ गते निर्माण सम्पन्न गर्ने गरी रु।१ करोड ६८ लाख २८ हजारमा ठेक्का लिएको थियो । त्यस्तै देउती कन्स्ट्रक्सन काठमाडौँले दामुना खोलामा स्ल्याब कल्भर्ट २०६७ फागुन २७ गतेसम्म सम्पन्न गर्ने गरी रु ५१ लाख ५४ हजारमा ठेक्का पाएको थियो । म्याद समाप्त पश्चात् अर्को म्याद थप भएको छैन । निर्माण कार्य १२ वर्षसम्म अधुरो राख्ने निर्माण व्यवसायीलाई सम्झौताबमोजिम कारबाही गरिनुपर्ने भन्दै महालेखा परीक्षकको कार्यालयले सिफारिस गरेको हो । जुन महालेखा परीक्षकको अन्ठाउन्न वार्षिक प्रतिवेदनमा उल्लेख छ । म्याद सकिएर वर्षसम्म काम सम्पन्न नगर्ने ती दुवै निर्माण कम्पनीहरूलाई हर्जाना गरिने सडक डिभिजन कार्यालय दमकले जनाएको छ । म्याद थप नभएकाले नियम अनुसार दुवै निर्माण कम्पनीलाई १० प्रतिशत हर्जाना गरिने सडक डिभिजन कार्यालयका इन्जिनियर अनुप साउदेनले बताए ।

गेउरिया खोलाको पुल ठेक्का लिने साप शिवाको राजधानी जेभीले कूल रु।१ करोड ६८ लाख २८ हजार ठेक्का रकममध्ये १ करोड १५ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ भने देउती कन्स्ट्रक्सनले कूल ५१ लाख ५४ हजार ठेक्का रकममध्ये ४६ लाख रुपैयाँ भुक्तानी पाइसकेको छ । अब बाँकी रकमबाट पुरै ठेक्काको १० प्रतिशत हर्जाना काटिने इन्जिनियर साउदेनले बताए । सडक डिभिजन कार्यालयले ठेक्का लगाएर अलपत्र परेका ७५ वटा रुग्ण योजना रहेका थिए ।

त्यसमध्ये ती दुई वटा योजना मात्र अब फरफारख हुन बाँकी रहेको छ । जुन हिसाबले प्रगति हुनुपर्ने थियो त्यो हिसाबले नभई बल्ल दामुना खोलाको कल्भर्ट भौतिक रुपमा सम्पन्न भइसकेको तर केही काम बाँकी रहेकाले दसैँ अघिसम्म सो योजना फरफारख गरिने इन्जिनियर साउदेनले बताए ।‘गत आर्थिक वर्षमा अलिक काम भएर कल्भर्ट चालू अवस्थामा रहेको छ ’उनले भने ,‘त्यसलाई पुरै सम्पन्न गर्न लगाएर केही दिनमा फरफारख हुन बाँकी लिस्टबाट हटाउँछौ ।’ हुलाकी मार्गमा पर्ने गेउरिया खोलाको पुलमा केही वर्ष अघिदेखि यातायात सञ्चालन हुँदै आएको छ । भौतिक रुपमा सम्पन्न भए पनि पुलमा त्रुटि भेटिएपछि सडक डिभिजन कार्यालयले सच्याउन पत्राचार गरेको थियो । निर्माण कम्पनीले त्रुटि सच्याइसकेकाले फरफारखको लागि फाइल अगाडि बढाइने इन्जिनियर साउदेनले जानकारी दिए ।

सम्बन्धित समाचार