२०८३ असार २ गते , मंगलबार

पत्रकार प्रसाईँद्वारा आमाको स्मृतिमा पत्रकार उपचार कोषलाई सहयोग

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र ८ गते , मंगलबार
पत्रकार प्रसाईँद्वारा आमाको स्मृतिमा पत्रकार उपचार कोषलाई सहयोग
झापा ।  नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति कोषाध्यक्ष रञ्जित प्रसाईँले आफ्नी आमाको स्मृतिमा पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् ।
प्रसाईँले आमा दमन्तादेवीको ११ औं वार्षिक पुण्य तिथिका दिन मङ्गलवार पत्रकार उपचार कोषका लागि महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीसहितको टोलीलाई उक्त रकम प्रदान गरेका हुन् ।
आँगन एफएम बिर्तामोडका स्टेसन मेनेजर बिर्तामोड ७ गरामनि निवासी प्रसाईँ डेढ दशकदेखि पत्रकारितामा क्रियाशील छन् । झापाली पत्रकारहरूको दिगो हितमा योगदान गर्न आफूले रकम प्रदान गरेको उनले बताएका छन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ  प्रदेश १ का सदस्य सुरेन्द्र भण्डारी, झापा शाखाका उपाध्यक्ष केशव भट्टराई, कार्यसमिति सदस्यहरू रञ्जित परियार, विनोद पाण्डेको सहभागिता थियो ।
महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरू बिरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ ।
कोषमा हाल ४५ लाख रुपैयाँ जम्मा भइसकेको छ । कोषमा सहयोग जुट्ने क्रम जारी छ । आफूले झैँ अरूले पनि जन्मोत्सव, विवाह उत्सव तथा पितृको स्मृति जस्ता सन्दर्भमा केही रकम योगदान गर्ने हो भने कोषलाई एक करोड रुपैयाँ बनाउन सहयोग पुग्ने पत्रकार प्रसाईँले बताएका छन् ।
महासंघ झापा शाखाले सङ्घ–संस्था, सहकारी, बैङ्क, दाता सबै क्षेत्रलाई एक पटक पत्रकारको दिगो हितका लागि स्थापना भएको उपचार कोषमा सहयोग गर्न आव्हान गरेको छ ।
उपचार  कोषको सदस्यता नलिएका सबै पत्रकारलाई तत्काल कोषको सदस्यता लिन पनि महासङ्घले आह्वान गरेको छ ।

सम्बन्धित समाचार