२०८३ असार २ गते , मंगलबार

नाटक घरलाई झापाली समाज युएईको सहयोग

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र ५ गते , शनिबार
नाटक घरलाई झापाली समाज युएईको सहयोग
झापा । झापाको बिर्तामोडमा निर्माणाधीन बहुजाती बहुभाषिक बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माणका लागि झापाली समाज युएईले सहयोग गरेको छ ।
 झापा नाटक घरका लागि आवश्यक जमिन खरिद गर्न संस्थाले सञ्चालन गरेको एक धुर जमिन खरिद अभियानका लागि  झापाली समाज युएईले  एक लाख एक हजार रुपैयाँ सहयोग गरेको हो। झापाली समाज युएई नेपाल सम्पर्क समितिका अध्यक्ष दुर्गाप्रसाद सापकोटाको अध्यक्षता तथा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल सम्पर्क समितिका प्रवक्ता गोपी रिजालले स्वागत गरेका थिए । कार्यक्रममा झापाली समाज युएईका अध्यक्ष दुर्योधन कार्की र नेपाल सम्पर्क समितिका अध्यक्ष सापकोटाले   झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधव कल्पित, वरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारी, ध्रुवकुमार सिवाकोटीलगायतलाई उक्त रकम हस्तान्तरण गरेका थिए । 
एक धुर  जमिन खरिद गर्न  सहयोग सङ्कलन अभियान सुरु गरी रकम सङ्कलन गरेको अभियानका सचिव तथा झापाली समाज युएईका प्रवक्ता रामप्रसाद ढुङ्गेलले बताए । 
कल्पितले झापाको बिर्तामोड नगरपालिका– १ मा निर्माणाधीन बहु जातीय सङ्ग्रहालय तथा झापाली नाटक घर प्रदेश नम्बर १ कै ऐतिहासिक तथा सांस्कृतिक धरोहरको रूपमा रहेको र  कला तथा साहित्यको संरक्षण संवर्द्धन गर्नु हामी सबैको सामाजिक दायित्व भएकाले  झापाली समाज युएईले गरेको कार्यको प्रशंसा गरेका थिए ।
 सोही कार्यक्रममा माया भण्डारी भट्टराई, भूमि अधिकारी, माइनस प्लस सङ्ग्रौला, देवेन्द्र निरौला, दिवाकार भट्टराईलगायतले नाटक घरलाई आर्थिक सहयोग गरेका थिए । त्यस्तै नाटक घरका लागि सहयोग गर्ने दातालाई प्रशंसा पत्र प्रदान गरिएको कार्यक्रमको सञ्चालन नेपाल सम्पर्क समितिका सचिव मणि सुवेदीले गरेका थिए ।

सम्बन्धित समाचार