होटेलमा युटुबर आतङ्क प्रकरण : स्थानीयबासीद्वारा मजदुर सङ्गठनमा तालाबन्दी
झापा। चारआलीस्थित आयल निगम आसपासका स्थानीयले बिर्तामोड युटुबर काण्डमा निर्दोष व्यक्तिलाई पक्राउ गरिएको विरोधमा तालाबन्दी गरेका छन् । स्थानीयवासीले आज साँझ नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन ट्याङ्कर कमिटी चारआलीको कार्यालयमा तालाबन्दी गरेका छन् ।
उनीहरूले होटेल व्यवसायी हेमराज भट्टराई र अर्का युवा सुवास कार्कीले समाजकै भलाइको लागि काम गरेको भन्दै निर्दोष व्यक्तिहरूलाई रिहाइ गर्न माग गरेका छन् । युटुबरको बारेमा आफूहरू जानकार नभएको भन्दै स्थानीयवासीले गाउँमा धेरै विकृति बढेका कारण गाउँले कै सल्लाहमा उनीहरूलाई होटेलबाट पक्राउ गरिएको स्थानीय महिलाहरूले जानकारी दिएका छन् । सो कार्यालयका सचिवले गाउँका चेलीलाई राती राती बाहिर लिएर गएको र यसअघि पनि सोही प्रकारको घटना भएको भन्दै तालाबन्दी गरेको स्थानीय लक्ष्मण कार्कीले बताए । उनले गाउँमा हदैसम्मको विकृति बढेको भन्दै ‘रेड लाइट’ घोषणा गरिदिन माग समेत गरेका छन् ।
युटुबरले चरित्र हत्या गरेको भन्दै पीडित महिलाहरूले इप्रका अनारमनिमा उजुरी गरेपछि प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ । अभद्र व्यवहार मुद्दा दर्ता गरिएको पीडित महिलाहरूको भनाई छ । गाउँलेले आज साँझ भेला भएर महिलाहरूले समेत कमजोरी गरेको औँल्याएका छन् । यता, महिलाहरूले खाजा खान गलत नभएको प्रतिक्रिया दिदैं आएका छन् ।