२०८३ असार २ गते , मंगलबार
मेची नदीमा डुबेर बुबाको मृत्यु, छोरा बेपत्ता
झापा । मेची नदीमा डुबेर एक भारतीय नागरिकको शुक्रवार मृत्यु भएको छ । मेची नदीले बगाउँदा एक जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला खोडबारी थाना अन्तरगतको मनयागुडी निवासी जग गणेश रहेको भारतीय प्रहरीले जनाएको छ ।
नदीले बगाउँदा मृतकका उनका छोरा समल गणेश बेपत्ता भएका छन् । भारतीय प्रहरीका अनुसार नेपाल भारत सीमाबाट बग्ने मेची नदीमा जय गणेश, देवानन्द गणेश, समल गणेश र लाल गणेश माछा मार्ने गएका थिए । माछा मार्ने स्थान मेचीनगर नगरपालिका-७ स्थित सतिघट्टा पारी हो ।
माछा मार्ने क्रममा बुबा जय गणेश र छोरा समल गणेशलाई नदीले बगाएको थियो । बुबा छोरालाई नदीले बगाएपछि स्थानीयवासी र प्रहरीले उद्धार गर्ने क्रममा बुबा जयको शव नदीमा निकालेका थिए । छोराको शव अहिलेसम्म फेला नपरेको भारतीय प्रहरीले जनाएको छ । उनको शव खोज्नका लागि भारतीय प्रहरी डुङ्गा चढेर भद्रपुर नाकासम्म आएका थिए ।